काठमाडौं । सरकारविरुद्ध असहयोग आन्दोलन चर्किँदै गएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सोमवार देश छाडेकी छन्। उनी सैनिक हेलिकोप्टरबाट भारतको पश्चिम बंगाल प्रस्थान गरेकी छन्।

आज दिउँसो प्रधानमन्त्री हसिना भारत प्रस्थान गरेको बंगलादेशको दैनिक पत्रिका प्रोथोमआलोका परराष्ट्र मामिला हेर्ने पत्रकार रइद एजाजले ढाकाबाट जानकारी दिए ।

advertisement

हसिनाले पदबाट राजीनामा दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् तर त्यसको स्वतन्त्र पुष्टि अझै भइनसकेको पत्रकार रइदले जानकारी दिए । असहयोग आन्दोलन नाम दिएर चर्केको आन्दोलनका क्रममा आइतवारमात्रै कम्तिमा ९८ जनाले ज्यान गुमाएका थिए ।

सोमवार देश छाड्नुअघि हसिनाले बंगलादेशमा आन्दोलन आतंककारीहरुले गरेको र यसको उद्देश्य देशलाई अस्थिरतामा लैजान खोजिएको आरोप लगाएकी थिइन् । उनले आन्दोलन स्थगीत गरेर वार्तामा आउन विद्यार्थीहरुलाई अनुरोध गरेकी थिइन् । तर विद्यार्थीहरुले आन्दोलन रोकेका छैनन् । प्रतिपक्षी दलले पनि आन्दोलनलाई समर्थन जनाएको छ ।

एक महिनाअघि आन्दोलन शुरु भएदेखि हालसम्म कम्तिमा पनि ३०० जनाको मृत्यु भइसकेको छ । हालसम्म कम्तिमा ११ हजारजना प्रदर्शनकारी विद्यार्थी र राजनीतिक कार्यकर्ता गिरफ्तारीमा परेको बंगलादेशी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सोमवार बंगलादेशकी प्रधानमन्त्री हसिनाको निवासमा हजारौं प्रदर्शनकारीहरु जम्मा भएर उनको राजीनामा माग्दै घेराउ गरेका थिए । सोमवार कम्तिमा पनि चार लाख प्रदर्शनकारीहरुले ढाकामा विरोध प्रदर्शन जारी राखेका छन् ।

प्रकाशित मिति: २१ श्रावण २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com