काठमाडौं – रवि लामिछानेलाई शुक्रबार २७ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण, सूर्यदर्शन सहकारीको रकम अपचलन, गोर्खा मिडियासँगको सम्बन्ध, र जीबी राईसँगको सम्पर्कबारे प्रश्न गरियो।
सरकारी वकिलको कार्यालय कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले लामिछानेसँगका प्रश्नहरू मुख्य तीन मुद्दामा केन्द्रित रहेको बताइन्। उनका अनुसार, लामिछानेले सबै आरोप अस्वीकार गर्दै बयान दिए। तर, सरकारी पक्षले उनको संलग्नता पुष्टि गर्ने पर्याप्त आधार रहेको दाबी गरेको छ।
पीडितपक्षका अधिवक्ता युवराज पराजुलीका अनुसार, लामिछानेले आफ्नो सम्पत्ति विवरण पारदर्शी रहेको र संसदमा समेत सार्वजनिक गरिसकेको दाबी गरेका छन्। उनले एउटै रकम बारम्बार कारोबार भएका कारण ठूलो रकम देखिएको स्पष्टीकरण दिए।
लामिछानेले सहकारीपीडितहरूको समस्या समाधानका लागि पार्टीको तर्फबाट विज्ञहरूको सहभागितामा कार्ययोजना तयार पारेको र उक्त योजना कार्यान्वयन भएको भए पीडितले न्याय पाइसकेको हुने दाबी गरे।
उनले गृहमन्त्री हुँदा जीबी राईलाई पक्राउ गर्न प्रयास गरे पनि सरकार ढलेका कारण प्रक्रिया रोकिएको बताए। उनले जीबी कहाँ छन् भनेर पत्ता लगाएर ल्याउने तयारी भइरहेकै बेला सरकार परिवर्तन भएको उल्लेख गरे।
सहकारीको रकम कहाँ र कसरी खर्च भयो भन्नेबारे जवाफ दिन जीबी राईलाई पक्रन पाएको भए सबै खुलासा हुने लामिछानेको भनाइ छ।
प्रकाशित मिति: १२ पुस २०८१, शुक्रबार













प्रतिक्रिया