काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान र लेगस्पिनर सन्दीप लामिछानेको पछिल्लो सामाजिक सञ्जाल पोस्टले नेपाली क्रिकेटमा हलचल ल्याएको छ।

सन्दीपले आफ्ना समर्थकहरूप्रति कृतज्ञता व्यक्त गर्दै लेखेका छन्, “सबैलाई धन्यवाद। यो देश र यहाँका क्रिकेट समर्थकहरूले मेरो यात्रामा सधैं माया र साथ दिनुभएको छ। यो माया मेरा लागि सधैं विशेष रहनेछ।”

advertisement

उनको यो भावुक स्टाटसले धेरैलाई सोचमग्न बनाएको छ। कतिपयले यसलाई सन्यासको संकेतका रूपमा लिएका छन् भने केहीले कुनै ठुलो निर्णयको पूर्वसंकेत भएको अनुमान गरेका छन्।

तर, सन्दीपसँग प्रत्यक्ष सम्पर्क हुन नसक्दा स्थिति अझै स्पष्ट भएको छैन। उनका मोबाइल फोन बन्द रहेको र नेपाल क्रिकेट संघ (क्यान)सँग पनि यसबारे कुनै जानकारी नभएको बताइएको छ।

२४ वर्षीय सन्दीपका लागि यो उमेरमा सन्यासको निर्णय अलि अस्वाभाविक देखिन्छ। उनका समर्थकहरूले उनको व्यक्तिगत निर्णयको सम्मान गरे पनि युवा उमेरमै यस्तो कदम उठाउनुपर्ने ठोस कारण देखिएको छैन।

यद्यपि, क्रिकेटमा युवा उमेरमै सन्यास लिने परिपाटी नयाँ भने होइन। उदाहरणका लागि, अफगानिस्तानका नवीन उल हकले २४ वर्षकै उमेरमा एकदिवसीय क्रिकेटबाट सन्यास लिँदै टी–२० मा ध्यान केन्द्रित गर्ने निर्णय गरेका थिए।

सन्दीपको यो स्टाटसमा कतिपयले ध्यान आकर्षण गर्ने प्रयास भनेका छन् भने केहीले उनलाई नेपाल छाडेर अन्य देशबाट खेल्न सक्ने अड्कल गरेका छन्। तर, यी सबै अनुमानमात्र हुन्। सत्य के हो भन्ने कुरा सन्दीपले नै स्पष्ट गर्न बाँकी छ।

नेपाली टोलीका लागि ५८ एकदिवसीय र ५८ टी–२० खेलिसकेका सन्दीपले विश्वकपसहित विश्वका ठूला लिगहरूमा आफ्नो उपस्थिति जनाइसकेका छन्। पछिल्ला खेलहरूमा उनको प्रदर्शनमा उतारचढाव देखिए पनि उनको क्रिकेट करियर अझै लामो यात्रा तय गर्न सक्ने देखिन्छ।

प्रकाशित मिति: ६ माघ २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com