काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरमाथि बलात्कारको मुद्दामा अनुसन्धान अघि बढाउन उच्च अदालत पाटनले आदेश दिएको छ। पीडितले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ र जिल्ला प्रहरी परिसर काठमाडौँलाई प्रतिवादी बनाएर दिएको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले यो आदेश जारी गरेको हो।

अदालतले अनुसन्धान प्रक्रिया अघि बढाउन भनेको जानकारी पीडितका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले दिए। उनका अनुसार काठमाडौँ प्रहरीले जाहेरी तामेलीमा राख्ने निर्णय गरेको विरोधमा दायर निवेदनपछि अदालतले यस्तो आदेश गरेको हो।

advertisement

पीडितले २०८० जेठमा ऐन महरद्वारा बलात्कृत भएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएको बताइएको छ। सुरुमा प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको थियो। पछि हुलाकमार्फत पठाइएको जाहेरी दर्ता गरे पनि मुद्दा चलाउन नमिल्ने भन्दै तामेलीमा राख्ने निर्णय गरेपछि पीडितले उच्च अदालतको ढोका ढकढक्याएकी थिइन्।

अदालतले ‘तामेलीमा राखिएको जाहेरीमाथि अनुसन्धान हुनुपर्छ’ भनी आदेश दिएको छ। तर, जाहेरी दर्ता नगर्ने र सनाखत नगराउने विषयमा दायर अन्य दुई रिट खारेज गरेको वरिष्ठ अधिवक्ता भण्डारीले जानकारी दिए।

डा. भण्डारीले भने, “अदालतले प्रहरीको तामेलीमा राख्ने निर्णय उल्ट्याउँदै अनुसन्धान अघि बढाउन निर्देशन दिएको छ।” ऐन महरले २०८० जेठमा आफ्नै कार्यालयमा बोलाएर पीडितलाई बलात्कार गरेको आरोप लगाइएको छ।

प्रकाशित मिति: १० माघ २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com