काठमाडौं । सामाजिक अभियन्ता युवराज सफलले सामाजिक सञ्जालको नियमन र नियन्त्रण कडा गर्न सरकारलाई आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएका छन्।

पत्रमा उनले सामाजिक सञ्जालमार्फत समाजमा सद्भाव विथोल्ने, अश्लीलता फैलाउने र आपराधिक गतिविधि प्रोत्साहन हुने कार्य रोक्न ठोस कदम चाल्न सरकारलाई अपिल गरेका छन्।

advertisement

सफलले फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्राम, पोपो, बिगो, टेलिग्राम र ह्वाट्सएपजस्ता एपहरूको प्रयोग व्यापक भए पनि यसको प्रभावकारी नियमन नहुँदा नकारात्मक प्रभाव बढेको बताएका छन्। उनले सामाजिक सद्भाव विथोल्ने, मानहानी गर्ने, ठगी गर्ने गतिविधि बढेकाले यस्ता गतिविधिमा संलग्नलाई कडा कानुनी कारबाही गर्नुपर्ने बताएका छन्।

उनले सामाजिक सञ्जालमा खाता खोल्नका लागि नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र वा प्यान नम्बर अनिवार्य गर्नुपर्ने प्रस्ताव गरेका छन्। साथै, फेक अकाउन्ट पहिचान गरी स्थायी रूपमा ब्लक गर्ने र आपत्तिजनक सामग्री स्वतः हटाउने व्यवस्थाका लागि आग्रह गरेका छन्।

सफलले फेसबुक र टिकटकजस्ता प्लेटफर्महरूबाट हुने आर्थिक क्रियाकलापलाई मोनेटाइज गरी करको दायरामा ल्याउनुपर्ने सुझाव दिएका छन्। टिकटकमा आपत्तिजनक सामग्री स्वतः हटाउने र अश्लीलता फैलाउने व्यक्तिलाई कानुनी कारबाही गर्नुपर्ने माग समेत गरेका छन्।

युट्युबमा च्यानल खोल्न सरकारी कागजात अनिवार्य गर्नुपर्ने र फेक सामग्री प्रसारण गर्ने च्यानलहरू बन्द गर्नुपर्ने उनको सुझाव छ। पोपो, बिगो, टेलिग्राम र ह्वाट्सएपजस्ता एपहरूबाट हुने ठगी र सामाजिक विसंगति रोक्न सरकारको कडा निगरानी आवश्यक रहेको उनले बताएका छन्।

उनले सरकारलाई सामाजिक सञ्जालबाट हुने आर्थिक क्रियाकलापलाई व्यवस्थित गरी राजस्व वृद्धि गर्ने नीतिगत व्यवस्था गर्न सुझाव दिएका छन्।

यदि सरकारले यी कदम नचालेमा आफू सर्वोच्च अदालतमा रिट दायर गरी कानूनी प्रक्रिया अघि बढाउने चेतावनी समेत उनले दिएका छन्।

प्रकाशित मिति: १० माघ २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com