काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको लहर बढेको दाबी गरेका छन्। उनले विशेषगरी एमालेबाट माओवादीमा आउनेहरूको संख्या बढ्दै गएको उल्लेख गरे।
बाँकेमा आयोजित पार्टीको खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले विगतका कमीकमजोरी सच्याएर माओवादी अब जनतासँग नजिकिँदै अघि बढेको बताए।
उनले भने, “हामी अहिले आत्मसमीक्षा गरेर अघि बढिरहेका छौँ। विगतमा काँग्रेस र एमालेसँग सहकार्य गर्दा माओवादीको पहिचान हराउने डर थियो। अब यस्तो गल्ती हुने छैन। माओवादी अब आफ्नै एजेन्डा र आधारमा उभिन्छ। भ्रष्टाचारीहरूसँग कुनै सम्झौता हुने छैन।”
प्रचण्डले आफूलाई सरकारबाट असंवैधानिक तरिकाले हटाइएको आरोप लगाए। उनले भने, “अहिले भ्रष्टाचारीहरूको संख्या धेरै छ, तर तिनको विरुद्ध लड्नेहरू कम छन्। ३२ सिट हुँदा पनि हामीले भ्रष्टाचारका विरुद्ध संघर्ष गरेका थियौँ। यदि २०६४ साल जस्तै बहुमत पायौँ भने नेपालबाट भ्रष्टाचारको जरो उखालेर फाल्नेछौँ। सामाजिक विभेदको अन्त्य गर्नेछौँ।”
७० वर्षको उमेरमा पनि भ्रष्टाचार र प्रतिक्रियावादीहरूविरुद्ध लड्ने प्रतिबद्धता जनाउँदै उनले यो लडाइँ नेपाली जनताको जित हुने विश्वास व्यक्त गरे।
साथै, प्रचण्डले वर्तमान सरकारले अध्यादेशबाट शासन चलाउने प्रयास गरेको भन्दै १८ गतेबाट संसद्मा सरकारको विरोधमा कडा रूपमा प्रस्तुत हुने घोषणा गरे।
प्रकाशित मिति: १० माघ २०८१, बिहिबार












प्रतिक्रिया