काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणका अनुसार जोरपाटी वितरण केन्द्र, बुढानीलकण्ठ वितरण केन्द्र र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका स्थानहरूमा एकदेखि आठ घण्टासम्म विद्युत् सेवा अवरुद्ध हुनेछ।
जोरपाटी वितरण केन्द्रको डाँछी फिडरअन्तर्गत माकलबारी, दक्षिणढोका, तिवारी टोल, शिवचोक, अर्याल गाउँ, ग्रीनहिल सिटी, भद्रवास, नयाँ गाउँ, हरियाली नगर, गजरकोट क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ। विद्युतीय पोल स्थानान्तरणका लागि फिडर सटडाउन गर्नुपर्ने भएकाले विद्युत् कटौती गरिने प्राधिकरणले जनाएको छ।
त्यसैगरी, बुढानीलकण्ठ वितरण केन्द्रको टोखा फिडर र शिवपुरी फिडरअन्तर्गतका क्षेत्रहरूमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ। टोखा फिडरअन्तर्गत हात्तिगौंडा, बालुवा डिपो, खत्री गाउँ, विष्णुमती क्षेत्रका वडा नं. १, २ र ३, भूतखेल, टोखा बजार, चण्डेश्वरी, पञ्चेटार, झोर, साँगला र भत्केको पुलसम्मका क्षेत्र प्रभावित हुनेछन्।
शिवपुरी फिडरअन्तर्गत दाडागाउँ, पासिकोट, भष्मस्थली, टोखा, पञ्चेटार, मेगासिटी र ढलमलटार क्षेत्र पनि साँझसम्म विद्युत् कटौतीको सामना गर्नेछन्।
महाराजगञ्ज वितरण केन्द्रको बसुन्धरा फिडरअन्तर्गत बासबारी, चक्रपथ, सामाखुशी, टोखा रोड र ग्रान्डी अस्पताल क्षेत्रमा बिहान ९ बजेदेखि १० बजेसम्म विद्युत् कटौती हुनेछ। निर्धारित काम समय अगावै सम्पन्न भए विद्युत् सेवा समयभन्दा छिट्टै सुचारु हुने प्राधिकरणले जनाएको छ।
प्रकाशित मिति: १२ माघ २०८१, शनिबार













प्रतिक्रिया