काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य ज्वाला संग्रौलाले पार्टी सभापति रवि लामिछाने गृहमन्त्री भएको बेला एक बलात्कारीलाई जीवनदान दिएको स्वीकार गरेकी छिन्।
शनिबार सामाजिक सञ्जालमा दिएको यो अभिव्यक्तिले राजनीतिक वृत्तमा चर्चा पाएको छ।
संग्रौलाले सुरुमा लेखेको स्टाटसमा “रवि दाइले गृहमन्त्री हुँदा जीवनदान दिएको” उल्लेख गरेकी थिइन्। केही समयपछि उक्त वाक्य हटाएर उनले अर्को सन्देश लेखिन्, जसमा भनिएको थियो, “एउटा बलात्कारी आज निक्कै उफ्रिँदै छ रे त साथीहरू। अहिले कुर्सी त्यस्को बाउको, त्यसपछि हाम्रो दाइको। याद गर काजी।” यो अभिव्यक्तिलाई नेकपा एमालेका नेता महेश बस्नेतप्रति लक्षित गरिएको ठानिएको छ।

- ज्वाला संग्रौलाले इडिट गरेका दुई वटा स्टाटस।
रास्वपा सुशासनको पक्षमा रहेको पार्टी दाबी गर्दै आए पनि संग्रौलाको बयानले गृहमन्त्रीका रूपमा पार्टीले बलात्कारीलाई संरक्षण दिएको भन्ने कुरा उजागर गरेको छ। यसले पार्टीको दोहोरो चरित्रलाई स्पष्ट पारेको छ।
त्यस्तै, शनिबार राष्ट्रिय युवा संघ नेपालको भेलामा नेता महेश बस्नेतले रवि लामिछानेलाई सहकारी ठगीको आरोप लगाउँदै कडा अभिव्यक्ति दिए। उनले लामिछानेले ४५० चेक काटेको, सहकारीबाट करोडौं लिएको र श्रीमतीको नाममा रकम बुझाएको दाबी गरे। उनले प्रश्न उठाउँदै भने, “६० र ६५ लाख धरौटीमा रिहा हुनु न्यायसंगत हो?”
रवि लामिछानेमाथि विभिन्न सहकारीहरूको रकम अपचलनको आरोप छ। उनी पोखराको सूर्यदर्शन सहकारी र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा क्रमशः ६५ लाख र ६० लाख धरौटीमा रिहा भएका छन्। हाल उनी बुटवलको सुप्रिम सहकारीको मुद्दामा समेत मुछिएका छन्।
प्रकाशित मिति: १३ माघ २०८१, आइतबार












प्रतिक्रिया