काठमाडौं । केबलकार बनाउने नाममा प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेका चन्द्र ढकाल र उनको स्वामित्वमा रहेको निजि कम्पनीको फाइदाका लागि राज्य संयन्त्रको दुरुपयोगगरी सामुदायिक जंगलको व्यापक फडानी गरिरहेको पाइएको छ।

स्रोतका अनुसार ताप्लेजुङ जिल्लाको फुङ्लिङ–११ मा पर्ने काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म २.७४ किलोमिटर लामो केबलकार निर्माणका लागि उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका विवादित ब्यापारी चन्द्र ढकालको कम्पनी पाथीभरा दर्शन केबलकार प्रा.लि ले सरकारी संयन्त्रको सेटिङ्गमा केबलकारको बाटो पर्ने क्षेत्रमा हजारौं रूख काटिसकेको छ।

advertisement

कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौँमा २०७२ असोज ६ मा दर्ता भएको पाथीभरा दर्शन केबलकार कम्पनीमा शुरूका लगानीकर्ताहरु ल्हाक्पा सोनाम शेर्पा र उनका भाइ आङछिरिङ शेर्पा थिए। यति एअरका मालिक समेत रहेका आङछिरिङ पाथिभरा बाट काठमाडौं फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो। त्यसपछि केबलकार निर्माण प्रक्रिया लामो समय अघि बढ्न सकेको थिएन। डेढ वर्षअघि मात्रै उक्त केवलकार कम्पनीबाट ल्हाक्पा शेर्पा बाहिरिएपछि ढकालको प्रवेश भएको थियो। उनको प्रवेशपछि राज्य संयन्त्रको सेटिङ्गमा नै ‘फास्ट ट्रयाक’मा काम गराएर केबलकार निर्माण प्रक्रिया तिब्रताकासाथ अगाडी बढाइएको थियो। यसमा चन्द्र ढकालको निजि कम्पनीको फाइदाको लागि राज्य संयन्त्रकै दुरुपयोग भएको देखिन्छ।

प्रहरी प्रशासनको आडमा व्यापक जंगल फडानी गरिएपछि तत्कालीन समयमा स्थानीय संघर्ष समितिले ताप्लेजुङ सहित मेची तथा तमोर करिडोर चार दिनसम्म बन्द गराएर आन्दोलन समेत गरेका थिए। सो आन्दोलन अहिले चर्की रहेको छ।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा चार जना प्रदर्शनकारी घाइते भएका छन् भने गोली लागेका तीन जनाको अवस्था गम्भीर रहेको छ ।

केवलकारका लागी काटिएका अधिकांश रुखहरु राष्ट्रिय फूल लालिगुराँस रहेका छन् । ठूलो मात्रामा लालिगुराँस काटिएको सम्बन्धमा जिज्ञाशा राख्दा ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले केवलकार बनाउने कम्पनीले डिपिआर भित्र परेका गुराँसका रुखहरु काटिएको स्वीकार गरेका छन । उनले भने, ‘डिपिआरभित्र परेका रुखहरु केबलकार बनाउने कम्पनीले काटेको हो ।’ उता, पाथिभरा क्षेत्रमा केवलकार बनाउने नाममा ठूलो मात्रामा लालिगुराँस काटिएकोबारे स्थानीयबासीहरु भने आक्रोशित देखिएका छन। एक स्थानीयबासीले ग्लोबल नागरिक सङ्ग कुरा गर्दै भने, ‘राष्ट्रिय जनावर गाई काट्दा जेल हाल्ने, राष्ट्रिय फूलको यसरी जंगलै बिनास गर्दा सरकार के हेर्दैछ ?’ स्थानीयबासीले सरकार आफै माफियासँग मिलेर पाथिभरा जंगल बिनास गर्न लागि परेको बताए ।

पाथिभरामा केवलकार बनाउने नाममा पूर्वी ताप्लेजुङमा अत्याधिक वन बिनास भइरहेकोमा अभियान्ताहरुले आपत्ति जनाउै आएका छन् । तर, सरकारले जनताको आवाज दमन गरेर बलपूर्वक पाथिभराको निजि कम्पनीको फाइदाको लागि प्राकृतिक बिनास गरिरहेको स्थानीयबासीको आरोप छ ।

ताप्लेजुङको पाथिभरामा भइरहेको प्राकृतिक बिनास र लालिगुराँसका हजारौं रुखहरु काटिएकोबारे जिल्लामा रहेका एमाले, कांग्रेस र माओवादीका नेताहरुको समेत मिलेमतो भएको आरोप स्थानीयबासीको छ । एक स्थानीयबासीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने, ‘यहाँ पाथिभरा केवलकारले गरेको बिनासबारे बोल्ने वित्तिकै ज्यानै जाने अवस्था छ । गौडा-गौडामा गुण्डा पालेर राखिएको छ, विरोध गर्ने वित्तिकै खुकुरी खाने अवस्था छ ।’

ब्यापारी चन्द्र ढकालले राज्य संयन्त्रलाई नै प्रभावमा पारेर सामुदायिक बन फँडानीगरी देशका विभिन्न क्षेत्रहरूमा निजी फाइदाका लागी केबलकार बिस्तार गर्दै आइरहेका छन्। जसका कारण प्राकृतिक सम्पदाको ब्यापक दोहन भईरहेको छ।
प्रसिद्ध माता पाथिभराको मन्दिरमा दैनिक हजारौं नेपाली तथा भारतीय श्रदालु भक्तजनको घुईचो लाग्ने हुँदा दैनिक करोडौं कुम्ल्याउने दाउमा बिबादित ब्यापारी चन्द्र ढकाल देखिन्छन्।

ब्यापारीक प्रयोजनको लागी निजी कम्पनीलाई प्राकृतिक सम्पदाको दोहोन गराउनु राज्य संयन्त्रको मिलेमतोमा नितिगत भ्रष्टाचार भएको स्थानीयको भनाई छ। यस विषयमा प्रतिक्रिया लिन खोज्दा ब्यापारी चन्द्र ढकाल सम्पर्कमा आउन चाहेनन्।

प्रकाशित मिति: १३ माघ २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com