काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य ज्वाला संग्रौलाले रास्वपा हुँ भन्ने व्यक्तिहरू कुनै न कुनै काण्डमा मुछिएको भन्ने दाबी गरेकी छिन्।
उनले मङ्गलबार आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेकी छिन्, “जसले आज मेरो विरोध गरेर आफूलाई रास्वपा हुँ भनिरहेका छन्, तिनको विगत हेर्दा कुनै न कुनै काण्डमा मुछिएका छन्। मैले ती कुराहरू पर्दाफास गर्न थालें भने भोलि उनीहरूलाई नाकमुख देखाउन गाह्रो पर्नेछ।”
संग्रौलाले थप लेखेकी छिन्, “मैले अहिलेसम्म कुनै अपराध गरेकी छैन, कसैको एक सुको खाएकी छैन, र पार्टीभित्र बसेर गुटबन्दी र फुटको काम गरेकी छैन। सकेसम्म राम्रो गर्ने प्रयास गर्छु, नसके नराम्रो पनि गर्दिनँ। आज म पार्टीमा यसकारण छु कि रबि दाइ हुनुहुन्छ र केही राम्रा साथीहरू छन्। मेरो एक सामान्य लेखाइको त्रुटिका कारण, जुन मैले सच्याएर तीनवटा स्पष्टिकरण स्टाटस लेखिसकेको छु, त्यसपछि पनि मलाई खेद्न छोडिएको छैन।”

यसअघि, आइतबार उनले एक स्टाटसमा लेखेकी थिइन्, “रवि दाइ गृहमन्त्री हुँदा जीवनदान दिएको एउटा बलात्कारी आज निकै उफ्रिँदैछ रे, साथीहरू। अहिले कुर्सी त्यसको बाउको, त्यसपछि हाम्रो दाइको। याद गर काजी।”
तर पछि उनले उक्त स्टाटस सच्याउँदै, “एउटा बलात्कारी आज निकै उफ्रिँदैछ रे, साथीहरू। अहिले कुर्सी त्यसको बाउको, त्यसपछि हाम्रो दाइको। याद गर काजी,” लेखेकी थिइन्।
यस विषयमा आलोचना भएपछि, संग्रौलाले आज फेरि अर्को स्टाटस लेख्दै आफूलाई रास्वपा हुँ भन्नेहरू कुनै न कुनै काण्डमा मुछिएका छन् भन्ने दाबी गरेकी हुन्।
प्रकाशित मिति: १५ माघ २०८१, मंगलबार













प्रतिक्रिया