काठमाडौं । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा केवलकार निर्माण गर्ने बिषयको विवाद चर्किदै गईरहेको छ। जसका कारण केवलकार निर्माण गर्ने व्यवसायी चन्द्र प्रसाद ढकाल समुह र पाथीभरालाई मक्कुमलुङ्गका नाममा विशेष आस्था राख्ने स्थानीय समूहबीच उत्पन्न विवादले स्थानीय जनजीवन समेत आक्रान्त बनेको छ।
ऐतिहासिक महत्व बोकेको पवित्र धार्मिक तिर्थस्थललाई प्रभावित पार्ने गरी निजी क्षेत्रले निजी ब्यापारीक स्वार्थका लागी सार्वजनिक सम्पत्तिको दुरुपयोगगरी विकासका योजना ल्याउन नहुने स्थानीयको माग छ। तर, पाथीभरामा केवलकार बनाएरै छाड्ने व्यवसायी चन्द्र ढकालको आइएमइ ग्रुप अन्तर्गत रहेको पाथीभरा दर्शन केवलकार प्रा.लिको अडान कायमै छ। जसले गर्दा पाथिभरा क्षेत्र तनावग्रस्त बनेको छ।
यसैबीच, आज चन्द्र ढकालले संचालन गरेको ग्लोबल आइएमइ बैंकका सम्पूर्ण स्थानीय शाखा बन्द गर्न मक्कुमलुङ्ग बचाउ अभियानका १० वटा सँस्था र ९ वटा राजनीतिक दलहरुले बैंकका शाखा प्रबन्धकलाई पत्राचार गरेका छन्। उक्त समूहले माघ १९ गतेभित्र उल्लेखित कार्यालय बन्द गर्न अल्टीमेटम दिएको छ।
ग्लोबल आइएमइ बैंकका स्थानीय ताप्लेजुङ शाखा , तापेथोक, पाँचथर, इलाम, चारआली, विर्तामोड, इटहरी, धरान, धनकुटा, तेह्रथुम र संखुवासभाका प्रबन्धकलाई पत्राचार गर्दै ती सँस्थाले केबलकारका नाममा मुक्कुमलुङमा भएको चरम मानव अधिकार हनन् नरोकिन्जेल शाखा कार्यालय बन्द गर्न अल्टीमेटम दिएका हुन्।
बैंकलाई लेखिएको पत्रमा भनिएको छ,- ‘ ग्लोबल आइएमइ बैंकका अध्यक्ष तथा पाथिभरा दर्शन केबलकार प्रा.लि.का सञ्चालक चन्द्र ढकालले व्यापारिक स्वार्थको लागि देशको सांस्कृतिक धरोहर, सम्पदालाई संरक्षणको विरोध, ध्यानाकर्षणको वावजुद मुन्धुमी आस्था स्थल मुक्कुमलुङमा सैन्यकरण गरेर जबरजस्ती केबलकार निर्माण गर्न खोज्दा निहत्था मुक्कुमलुङ संरक्षण अभियन्ताहरूमाथि गोली हानिएको, काटिएको, कुटिएको, थुनिएको, मानवअधिकारको चरम उल्लंघन भएको र ताप्लेजुङमा मात्र नभएर देश विदेशमा समेत अशान्त वातावरण सिर्जना गरेको, भातृत्व, सद्भाव खलबलाएको हुँदा निज ढकालले मुक्कुमलुङमा केवलकार निर्माण कार्य तुरुन्त बन्द गरी निर्माण सामाग्रीहरू फिर्ता लैजानुपर्ने, निजकै पहलमा सैन्यकरण भएकाले सैन्यकरण फिर्ता गर्न जिम्मा लिनुपर्ने, झुट्टा मुद्दामा थुनिएका मुक्कुमलुङ अभियन्ताहरू प्रदीप मादेन, चन्द्र सागर लिम्बू र लक्ष्मण लिम्बूलाई रिहाइको लागि जिम्मा लिनुपर्ने, गोली लागेर जीवन वर्वाद भएकोमा आजिवन जीवन निर्वाह क्षतिपूर्ति दिने जिम्मेवारी ढकालले लिनुपर्दछ ।’
विवादित ब्यापारी चन्द्र ढकालले राज्य संयन्त्रलाई नै प्रभावमा पारेर सामुदायिक बन फँडानीगरी पाथिभरामा केबलकार बिस्तारको काम थालनी गरेका छन्। जसका कारण प्राकृतिक सम्पदाको ब्यापक दोहन भईरहेको छ। पाथिभरामा केवलकार बिस्तार गरेर पाथिभरा क्षेत्र व्यावसायिक प्रयोजनको लागि हडप्ने नितिमा अगाडि बढेका बिबादित व्यापारी ढकालले प्रसिद्ध माता पाथिभराको मन्दिरमा दैनिक हजारौं नेपाली तथा भारतीय श्रदालु भक्तजनको घुईचो लाग्ने हुँदा दैनिक करोडौं कुम्ल्याउने दाउमा देखिन्छन्।
ब्यापारीक प्रयोजनको लागी निजी कम्पनीलाई प्राकृतिक सम्पदाको दोहोन गराउनु राज्य संयन्त्रको मिलेमतोमा नितिगत भ्रष्टाचार भएको भन्दै सरकारको निति नै आफ्नो निकट ब्यापारी पोस्ने र नागरिक ठोक्ने भएको स्थानीयको भनाई छ। मुक्कुमलुङ संरक्षण र केबुलकार खारेजी संघर्षरत स्थानीय युवाहरूमाथी प्रहरीले गोली बर्साउँदा ३ जना गम्भीर घाइते समेत भएका छन्।
केवलकार देखी होटल व्यवसायसम्म सन्चालन गरेर पाथिभरा पनि हडप्ने दाउमा रहेका ढकालको ब्यापारीक फाइदाको लागी स्थानिय धार्मिक सम्प्रदायको धार्मिक मूल्य-मान्यतामाथी समेत प्रहारगरि राज्यले सरकारी सम्पत्ति समेत ब्यक्तिलाई सुम्पिएर प्राकृतिक सम्पदाको दोहन गराउनु उचित नभएको जानकारहरु बताउँछन्। त्यसैको बिरोधमा केही समय देखी ताप्लेजुङमा आन्दोलन चर्किरहेको छ।
प्रकाशित मिति: १८ माघ २०८१, शुक्रबार












प्रतिक्रिया