काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले नेपाली जनता भ्रमित भएर ठगलाई नेता मान्न पुगेको बताएका छन्। चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
‘तपाईं नै भन्नुस्, हामीले दिएको उम्मेदवार ठीक कि रवि लामिछाने ठीक? हाम्रो उम्मेदवार ठीक कि हरि ढकाल ठीक?’ भन्दै चितवनका जनतालाई उनले प्रश्न गरे। ‘जनता यस्तो अवस्थामा पुगे, जहाँ ठगलाई नै नेता मान्न थाले।’
भट्टराईले रवि लामिछानेको नाम नलिईकन आरोप लगाउँदै भने, ‘अन्तर्राष्ट्रिय रूपमा ठगी गर्ने व्यक्तिलाई यहाँका जनताले नेता मानिरहेका छन्। सात-आठ वटा बैंक ठगेको, अमेरिकामा दुई वटा श्रीमती छोडेको, बालबच्चाको बिचल्ली पारेको। अनि अरबबाट अरूको बच्चा जन्माएर वाह! वाह! भन्ने अवस्था आयो।’
उनले लामिछानेलाई लक्षित गर्दै थपे, ‘जसले आफ्नै परिवारलाई बिचल्ली पारेर अमेरिका छोड्यो, त्यो व्यक्ति नेपालमा आएर लोकप्रिय भएको छ, आश्चर्यको विषय हो। गोजीमा नेपाली पासपोर्ट, अर्को गोजीमा विदेशी पासपोर्ट। एउटामा ग्रिन कार्ड, अर्कोमा नेपाली नागरिकता। एउटै गोडा विदेशमा, अर्को नेपालमा। अहिले रास्वपाका धेरै नेताको यही अवस्था छ।’
चितवनकै सहारा सहकारी प्रकरणको उदाहरण दिँदै भट्टराईले भने, ‘सात-आठ हजार जनाले ठगी सहनुपऱ्यो। तर, एक निर्वाचित सांसदले भन्छन्— प्रबन्ध निर्देशकले चेक काट्ने होइन, घाँस काट्ने हो। कसको पैसाको चेक काटियो, थाहा नै छैन रे! चुनाव जित्नु अघि सबथोक बुझ्ने, जितेपछि खान मात्र जान्ने!’
उनले सहकारी घोटालामा संलग्नलाई कारबाही गर्न खोज्दा अन्याय भयो भन्ने सोच गलत भएको बताए। ‘एउटा सहकारीमा मात्रै जोडिएको भए पो एक ठाउँमा बयान दिन सकिन्थ्यो। तर, पाँच ठाउँमा लगिएको छ भन्ने गुनासो गरिन्छ,’ भट्टराईले भने।
उनले चेतावनी दिँदै भने, ‘जनताले ढिलै भए पनि सत्य पहिचान गर्नुपर्छ। ठगी गर्नेहरूलाई नेता बनाउँदा देशले ठूलो मूल्य चुकाउनुपर्छ।’
प्रकाशित मिति: १९ माघ २०८१, शनिबार












प्रतिक्रिया