काठमाडौं – काठमाडौं जिल्ला प्रहरी परिसर, भद्रकालीले गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दर्ता गर्न नमिल्ने भन्दै अस्वीकार गरेको छ। दलितका लागि दलित अभियानका संयोजक खग्रेन्द्र सुनारले गृहमन्त्रीले जातीय विभेद तथा कानुन विपरीतका कार्य गरेको भन्दै जाहेरी दिन खोजेका थिए।
सुनारका अनुसार गृहमन्त्री लेखकले जातीय भेदभाव सम्बन्धी गम्भीर अपराध गरेको भन्दै आफूहरू प्रहरी समक्ष पुगेका थिए। तर, प्रहरीले गृहमन्त्री संलग्न विषयमा जाहेरी लिन नमिल्ने बताउँदै दर्ता गर्न अस्वीकार गरेको हो।
सर्लाहीको बरहथवा निवासी नेहा रौनियार र सत्येन्द्र रामबीच अन्तरजातीय विवाह भएपछि त्यसलाई तोड्न गृहमन्त्री लेखक स्वयं लागिपरेको समाचार बाहिरिएको थियो। यस प्रकरणमा सत्येन्द्रलाई पक्राउ गर्न प्रहरी भारतसम्म पुगेको र उनीविरुद्ध बालविवाह लगायतका झूटा मुद्दा लगाउन खोजिएको आरोप समेत लागेको छ।
सुनारले गृहमन्त्री लेखक र नेहाका बाबुबीच निकट सम्बन्ध रहेको र गृहमन्त्रीले आफ्नो पदको दुरुपयोग गरी जातीय विभेदलाई प्रश्रय दिएको दाबी गरेका छन्। उनले गृहमन्त्री लेखकविरुद्ध कानुनी कारबाही अघि बढाउन माग गर्दै जाहेरी दर्ता गराउन खोजे पनि प्रहरीले अस्वीकार गरेको हो।
प्रकाशित मिति: २४ माघ २०८१, बिहिबार













प्रतिक्रिया