काठमाडौं । सहकारी ठगीमा आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने चितवन जिल्ला अदालतले तोकेको ५४ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।
चितवनस्थित साहारा सहकारीको ठगीसम्बन्धी मुद्दामा थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो। अदालतको आदेशपछि प्रभु बैंकको बैंक ग्यारेन्टी प्रस्तुत गरेर लामिछाने रिहा भएका छन्।
यद्यपि, अदालतले लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न नरहेको पुष्टि हुने अवस्था अहिलेसम्म नरहेको जनाएको छ। आदेशमा भनिएको छ, “प्रतिवादी रवि लामिछानेको संलग्नता नरहेको ठहर अहिले नै गर्न सकिने स्थिति छैन। तथापि, मुद्दामा थप प्रमाण संकलन हुँदै जाने प्रक्रियामा रहने भएकाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम रु. ५४ लाख धरौटी वा जमानत लिनु।”
यसअघि कास्की जिल्ला अदालतबाट ६५ लाख, काठमाडौं जिल्ला अदालतबाट ६० लाख, र रुपन्देही जिल्ला अदालतबाट १ करोड रुपैयाँ धरौटी बुझाएपछि लामिछाने रिहा भएका थिए। यी सबै अदालतमा प्रभु बैंकले नै धरौटी ग्यारेन्टी दिएको छ।
प्रकाशित मिति: २५ माघ २०८१, शुक्रबार













प्रतिक्रिया