काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले वर्तमान सत्ता संयन्त्रलाई ‘मिलेमतोको सरकार’ भन्दै त्यसको विरोध गरेका छन्। आइतबार संसद्को विशेष समयमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
उनले सरकारको आलोचना गर्दै भने, “न्यायालयमा दबाब सिर्जना गर्नसक्ने मिलेमतोको सरकार रहुन्जेल हामी जीवित रहनु नै हाम्रो जित हो।”
सांसद पराजुलीको यो भनाइ सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानको हालैको खुलासासँग सम्बन्धित छ। प्रधानले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनको समर्थन नगरेको कारण आफूलाई प्रधानन्यायाधीश नबनाउने धम्की आएको खुलासा गरेकी थिइन्। यही विषयलाई जोड्दै सांसद पराजुलीले सरकारको आलोचना गरेका हुन्।
यसै अवसरमा उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै भने, “दुईतिहाइको सरकारले जेसुकै गरे पनि मान्नुपर्ने हो? अब अध्याय नै भयो भनेर बोल्न पनि पाइँदैन?”
सांसद पराजुलीको टिप्पणीले सरकारको नीति तथा कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएको छ।
प्रकाशित मिति: २७ माघ २०८१, आइतबार












प्रतिक्रिया