काठमाडौं । काठमाडौंको टेकुमा आइतबार कवाडी व्यवसायी र नगर प्रहरीबीच भएको झडपमा पाँच जना घाइते भएका छन्। महानगरपालिकाले कवाडी गोदाम हटाउने क्रममा बल प्रयोग गरेको आरोप लागिरहेका बेला एमाले नेता महेश बस्नेतले मेयर बालेन शाहको नीति र कार्यशैलीप्रति प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले लेखेका छन्, “टेकुमा कवाडी गोदाम हटाउन पुगेका नगर प्रहरीलाई व्यवसायीहरूले अवरोध गर्न खोजेपछि झडप भएको छ। दुई जना कवाडी व्यवसायी र दुई जना नगर प्रहरी घाइते भएका छन्। व्यवसायी तथा गरिबहरूलाई विस्थापित गर्दै नगर प्रहरीले अवान्छित ढंगले बल प्रयोग गरिरहेको देखिन्छ। बालेन भाइले कस्तो सन्तुलित सहर बनाउने प्रयास गरिरहनुभएको छ, बुझ्न कठिन भइरहेको छ।”

advertisement

नगर प्रहरी बलका अनुसार, अवैध संरचना हटाउने क्रममा व्यवसायीहरूले प्रतिरोध गरेपछि स्थिति तनावपूर्ण बनेको हो। प्रहरीका अनुसार व्यवसायीहरूले सिसाको बोत्तल प्रहार गरेपछि आत्मरक्षाका लागि बल प्रयोग गरिएको थियो।

महानगरको टोली डोजर लिएर कवाडी संकलन केन्द्र हटाउन पुगेपछि व्यवसायीहरूले विरोध जनाएका थिए। आफ्नो व्यवसाय नहटाउने अडान लिएका व्यवसायीहरू र महानगर प्रहरीबीच दोहोरो झडप भएपछि स्थिति तनावग्रस्त बनेको थियो।

घटनापछि महानगरको नीतिप्रति मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले नगर प्रहरीले व्यवसायीलाई अनावश्यक बल प्रयोग गर्दै विस्थापित गरिरहेको आरोप लगाएका छन् भने महानगर पक्षधरहरूले अनधिकृत संरचना हटाउनुपर्ने अपरिहार्य आवश्यकताको वकालत गरिरहेका छन्।

प्रकाशित मिति: २७ माघ २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com