काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका संचालक समिति अध्यक्ष दिलीप ढुंगानाविरुद्ध भ्रष्टाचार तथा अनियमितताको गम्भीर आरोपसहित नेपाल राष्ट्र बैंकमा उजुरी दर्ता भएको छ।

उक्त उजुरीमा अध्यक्ष ढुंगानामाथि पदको दुरुपयोग गरी ठूला कर्जा स्वीकृतिमा अनियमितता गरेको, अवैध रूपमा कमिसन लिएको तथा बैंकको सामाजिक उत्तरदायित्व कोषको रकम आफन्त, नातेदार तथा पार्टी निकट व्यक्तिहरूलाई वितरण गरेको आरोप लगाइएको छ। साथै, लिलामी प्रक्रिया पारदर्शी नबनाई न्यून मूल्यमा आफ्ना निकट व्यक्तिहरूलाई सम्पत्ति दिलाएको, भ्यालुएटरहरूसँग समेत आर्थिक लाभ लिएको तथा बैंकको सम्पत्तिको दुरुपयोग गरेको उजुरीमा उल्लेख गरिएको छ।

advertisement

उजुरीकर्ताले नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकजस्तो संस्थाका शीर्ष पदाधिकारीद्वारा गरिएका अनियमिततामाथि निष्पक्ष छानबिन गरी कारबाही अघि बढाउन माग गरेका छन्।

राष्ट्र बैंक स्रोतका अनुसार सुरुवाती चरणमा राष्ट्र बैंकले उजुरी लिन अस्वीकार गरेको भए पनि सो विषय सञ्चारमाध्यममा आएपछि इमेलमार्फत प्राप्त उजुरीलाई दर्ता गरिएको थियो। राष्ट्र बैंकले यस सम्बन्धमा बैंकसँग आधिकारिक जवाफ मागिसकेको छ।

यसअघि पनि विभिन्न सार्वजनिक निकायमा रहँदा आर्थिक अपचलनका आरोप खेप्दै आएका ढुंगानामाथि भूगर्भ सिमेन्ट लगायतका ठूला निष्क्रिय कर्जाहरू पुनर्संरचनाको नाममा अनियमितता गर्दै कमिसन लिएको आरोप समेत लागेको छ।

भ्रस्टाचार तथा अनियमितता जस्तो गम्भीर विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेपनि छानबिन अगाडि बढाउनु पर्ने माग बढ्न थालेको छ। राष्ट्र बैंकको छानबिनसँगै अब यो मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत जाने देखिन्छ।

प्रकाशित मिति: ३० माघ २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com