काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वमन्त्री जनार्दन शर्माले आफ्नै पार्टी नेतृत्वको अघिल्लो सरकारले कर्णालीका भूकम्पपीडितलाई भ्रमित बनाएको गम्भीर आरोप लगाएका छन्।

रुकुम पश्चिमको सानी भेरी गाउँपालिकामा आयोजित विशेष समारोहमा बोल्दै नेता शर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भूकम्पपीडितलाई पाँच लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि त्यो कार्यान्वयन हुन नसकेको उल्लेख गरे।

advertisement

शर्माले भने, ‘हाम्रै नेतृत्वको अघिल्लो सरकारले ५ लाख दिने भनेर झुक्काएछ । निर्णय गरेको भनियो तर कतै पनि भेटिएन । अहिले आएको यो सरकारले ४ लाख दिने निर्णय गरेको छ । एक लाख घटेर आए पनि अब पीडितले घर बनाउने पैसा पाउने भएका छन् ।’

शर्माले भूकम्पपीडितको पुनर्स्थापनाका लागि आफ्नो निरन्तर प्रयास रहेको बताउँदै अघिल्लो सरकारमा प्रभावशाली मन्त्रीहरू रहे पनि राहत कार्य अघि नबढेको स्वीकार गरे। ‘हाम्रो वरिपरि मन्त्रीहरू (शक्ति बस्नेत) भए पनि पीडितलाई सहयोग पुर्‍याउन सकिएन। अहिलेको सरकारले कार्यविधि टुंग्याएको छ, बजेट व्यवस्थापन गरिएको छ, अब पुनर्निर्माणको काम अघि बढ्नेछ,’ उनले स्पष्ट पारे।

पूर्वमन्त्री शर्माले रुकुम पश्चिम र जाजरकोटका भूकम्पपीडितहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि आफू प्रारम्भदेखि नै सक्रिय रहेको बताए। उनले रुकुमले कहिल्यै धोका नदिने तर पटक–पटक धोका खानुपर्ने अवस्था सिर्जना हुने गरेको उल्लेख गर्दै, पार्टी सुधारका लागि आवाज उठाउँदा आफूलाई विभिन्न आरोप लाग्ने गरेको गुनासोसमेत गरे।

प्रकाशित मिति: १ फाल्गुन २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com