काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले नयाँ राजनीतिक दल खोल्ने संकेत गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना विचार व्यक्त गर्दै उनले ०८४ को आम निर्वाचनमा बहुमत दिनेभए पार्टी गठन गर्ने इच्छा प्रकट गरेका छन्।
उनले लेखेका छन्, “म बुझ्न चाहन्छु, यदि ८४ मा बहुमत दिने भए, म पार्टी खोल्छु!”
मेयर हर्कका अनुसार भ्रष्टाचारविरोधी अभियान नै उनको सम्भावित राजनीतिक दलको मुख्य एजेण्डा हुनेछ। उनले भने, “यदि म पार्टी खोल्छु भने, ठगी र भ्रष्टाचारमार्फत खर्बौं रुपैयाँ विदेशमा लगानी गर्ने व्यक्तिहरूलाई कानूनी कारबाही गर्दै जेल पठाउने मेरो पहिलो प्राथमिकता हुनेछ।”
साथै, उनले विगतका वर्षहरूमा गैरकानुनी रूपमा बाहिरिएको राष्ट्रको सम्पत्ति फिर्ता ल्याउने प्रतिबद्धता जनाउँदै जनसमर्थनको आह्वान गरे। उनले लेखे, “पलायन भएको पैसा फिर्ता गर्ने! दिने हो साथ?”
त्यसैगरी, उनले नेपालको वर्तमान राजनीतिक व्यवस्थालाई ‘फोहोरी’ भन्दै त्यसको सुधार जरुरी रहेको बताए। उनले भ्रष्टाचार निर्मूल गर्न मूल स्रोत नै सफा गर्नुपर्ने धारणा राख्दै भने, “यदि देशको राजनीति सुधार्नुपर्छ भने, केवल तल्लो तह सफा गरेर मात्र हुँदैन, मूल मुहान नै सफा गर्नुपर्छ।”
प्रकाशित मिति: ३ फाल्गुन २०८१, शनिबार












प्रतिक्रिया