भोजपुर – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन (अनन्त)ले प्रधानमन्त्री केपी शर्मा ओली पुनः संसद् विघटनको योजनामा रहेको आरोप लगाएका छन्।
शनिबार भोजपुरको अरुण गाउँपालिकामा आयोजित माओवादी केन्द्रको दोस्रो अधिवेशन उद्घाटन गर्दै पुनले लोकतान्त्रिक प्रणाली र संसद्लाई ओलीले सधैं चुनौती दिने प्रवृत्ति देखाएको बताए। उनले प्रधानमन्त्री ओली कुनै पनि बेला संसद् विघटन गरी मध्यावधि चुनावको घोषणा गर्ने गृहकार्यमा रहेको दाबी गरे।
पुनले नेपाली कांग्रेसका नेताहरूलाई ओलीको सम्भावित अलोकतान्त्रिक कदमप्रति सतर्क रहन आग्रह गर्दै विगतमा भएको संसद् विघटनको उदाहरण पेश गरे। उनका अनुसार, ओली हाल अध्यादेशमार्फत शासन सञ्चालनको अभ्यास गरिरहेका छन्, जुन लोकतान्त्रिक मूल्यमान्यतासँग मेल खान्न।
‘लोकतान्त्रिक प्रणालीप्रति ओलीको असहिष्णुता’
उपमहासचिव पुनले प्रधानमन्त्री ओलीलाई लोकतान्त्रिक संस्थाहरूप्रति आस्था नभएको आरोप लगाउँदै भने, “ओलीजीलाई लोकतान्त्रिक प्रक्रिया मन पर्दैन। संसद् विघटनको उनका अघिल्लो प्रयासलाई हामीले सडकबाट असफल पारेका थियौं। अहिले पनि उनले आफ्ना अघिल्लो कदमलाई सही प्रमाणित गर्ने सोच राखेका छन्।”
उनले प्रधानमन्त्री ओली फेरि संसद् विघटन गरी मुलुकलाई मध्यावधि निर्वाचनतर्फ धकेल्ने दुस्साहस गर्न सक्ने भन्दै कांग्रेस लगायत सबै लोकतान्त्रिक शक्तिहरूलाई सजग रहन आग्रह गरे। पुनका अनुसार, ओली कुण्ठा, प्रतिशोध, स्वेच्छाचारिता, र व्यक्तिवादी चरित्रका नेता हुन्, जसले आफ्ना व्यक्तिगत स्वार्थका लागि लोकतान्त्रिक प्रणालीलाई नै जोखिममा पार्न सक्छन्।
‘ओलीले धोका दिए’
नेकपा विभाजनपछि ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पटक–पटक भेटेर पार्टी एकता कायम गर्ने अनुरोध गरेको पनि पुनले खुलासा गरे। उनले ओलीले प्रचण्डलाई भेटेर पटकपटक “एमाले र माओवादी नमिलेमा सन् २०८४ को निर्वाचनपछि हाम्रो अवस्था भारतको पश्चिम बंगालमा कम्युनिष्ट पार्टीको जस्तै हुनेछ” भनी सहकार्यका लागि अनुनय गरेको बताए।
उनका अनुसार, ओलीको आग्रहपछि कांग्रेससँग कुनै ठूलो मतभेद नभए पनि राष्ट्रिय एकता र जनताको चाहनालाई मध्यनजर गर्दै माओवादीले एमालेसँग सहकार्य गरेको थियो। “ओलीजीले गल्ती महसुस गरेर मिलौं भन्नुभएको हो भने ठीकै थियो। तर, उहाँले हामीलाई धोका दिनुभयो। उहाँ सधैं प्रतिशोध साध्ने मानसिकतामा रहनुभएको रहेछ,” पुनले थपे।
उनले वर्तमान सरकार स्थिररूपमा अगाडि बढिरहेको बेला प्रधानमन्त्री ओलीले पुनः अस्थिरता निम्त्याउने षड्यन्त्र गरिरहेको उल्लेख गर्दै लोकतान्त्रिक शक्तिहरूलाई सचेत रहन आह्वान गरे।
प्रकाशित मिति: ४ फाल्गुन २०८१, आइतबार












प्रतिक्रिया