काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उत्तर कोरिया, दक्षिण कोरिया र अमेरिकाबीच भएका ऐतिहासिक कूटनीतिक वार्तामा आफ्नो महत्वपूर्ण भूमिका रहेको बताएका छन्।

आइतबार समाजवादी प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले आफूले उत्तर कोरियाको भ्रमणमार्फत विश्व शान्तिमा योगदान पुर्याएको दाबी गरे। उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त भ्रमण रोक्न खोजेपनि आफू दृढ रहँदै उत्तर कोरिया पुगेको स्मरण गरे।

advertisement

“अमेरिका, जापान र दक्षिण कोरिया रिसाउने डरले केपी ओलीले मलाई उत्तर कोरिया जान रोक्न खोज्नुभयो। ती मुलुकका राजदूतहरू पनि आएर भ्रमण नगर्न सुझाव दिए। तर, म आफ्नो अडानमा अडिग रहँदै उत्तर कोरिया गएँ र त्यहाँका नेताहरूसँग महत्वपूर्ण भेटवार्ता गरें,” नेपालले भने।

नेपालका अनुसार आफ्नो उत्तर कोरिया भ्रमणपछि अप्रत्याशित रूपमा दक्षिण र उत्तर कोरियाका राष्ट्रपतिहरूबीच उच्चस्तरीय भेटवार्ता सम्भव भयो। साथै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ-उनबीच सिंगापुरमा ऐतिहासिक वार्ता सम्पन्न भयो।

उनले थपे, “म नेपाल फर्किएपछि ती मुलुकका राजदूतहरू नै आएर अचम्म मान्दै ‘के जादू भयो?’ भनेर सोध्न आए। किनभने विश्व शान्तिका लागि नेपालजस्तो सानो मुलुकले पनि कूटनीतिक पहल गर्न सक्छ भन्ने उनीहरूले महसुस गरे।”

पूर्वप्रधानमन्त्री नेपालले आफूले विगतमा कम्बोडियाका राष्ट्रपतिबाट युद्धरत पक्षहरूलाई संवादमा ल्याउने प्रस्तावसमेत पाएको स्मरण गरे। उनले फिलिपिन्स र अफ्रिकाका नेताहरूले समेत यस्तै कूटनीतिक भूमिका खेल्न आग्रह गरेको उल्लेख गर्दै नेपालले सानो राष्ट्र भए पनि शान्ति स्थापना र अन्तर्राष्ट्रिय कूटनीतिमा नेपालले प्रभाव पार्न सक्ने बताए।

प्रकाशित मिति: ४ फाल्गुन २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com