तनहुँ – बन्दीपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष बलबहादुर गुरुङले वडासचिव नवीन भुसालमाथि दुर्व्यवहार गर्दै कुटपिट गरेका छन्। भलिबल कार्यक्रमको बिल स्वीकृत नगरेको भन्दै वडाध्यक्ष गुरुङले सचिव भुसाललाई कार्यालयमै कुटपिट गरेका हुन्।
प्राप्त जानकारीअनुसार वडाध्यक्ष गुरुङले वडासचिव भुसालको घाँटी अठ्याउँदै थप्पड हानेका थिए। सचिव भुसालका अनुसार वडास्तरीय भलिबल प्रतियोगिताको बिल स्वीकृत गर्न नमानेपछि वडाध्यक्ष गुरुङले उनीमाथि आक्रमण गरेका थिए।
सोमबार बिहान कार्यालयमा उपस्थित भएका वडाध्यक्ष गुरुङले गत नौ माघमा सम्पन्न वडास्तरीय भलिबल प्रतियोगिताको बिल स्वीकृत गर्न निर्देशन दिएका थिए। जवाफमा वडासचिव भुसालले कार्यक्रम पूर्वस्वीकृत नभएको र आवश्यक शीर्षक उल्लेख नगरिएकाले बिल स्वीकृत गर्न नसकिने बताएका थिए।
यही विषयलाई लिएर वडाध्यक्ष गुरुङले सचिव भुसाललाई धम्क्याउँदै, “ठूलो कुरा गर्छस्, मलाई चिनेको छैनस्, मैले भनेपछि बिल पास गर्न के गाह्रो?” भनी आक्रोश पोखेका थिए। त्यसपछि उनले सचिव भुसालको घाँटी समात्दै तीन पटक थप्पड हानेको प्रत्यक्षदर्शी एक कर्मचारीले बताए।
वडासचिव भुसालको घाँटी र गालामा निलडाम देखिएको छ। उनलाई तत्काल बन्दीपुर अस्पतालमा प्राथमिक उपचार गराइएपछि थप उपचारका लागि भरतपुर अस्पताल रिफर गरिएको बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले जानकारी दिए।
घटनापछि स्थानीय कर्मचारी तथा सरोकारवालाहरुको दबाबका कारण आठ घण्टापछि वडाध्यक्ष गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस घटनाले स्थानीय प्रशासन तथा कर्मचारी सुरक्षाको विषयमा गम्भीर प्रश्न उठाएको छ।
प्रकाशित मिति: ५ फाल्गुन २०८१, सोमबार












प्रतिक्रिया