काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रको वर्तमान परिस्थिति प्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा एक विशेष शुभकामना सन्देश जारी गरेका छन्। उक्त सन्देशमा उनले प्रजातन्त्रले जनताको अपेक्षा पूरा गर्न नसकेको र अझै पनि नागरिकहरूको विश्वास जित्न असफल रहेको उल्लेख गरेका छन्। साथै, उनले प्रजातन्त्रको सार्थकता केवल शब्द र नारामा सीमित नभई व्यवहारिक रूपमा पुष्टि हुनुपर्नेमा जोड दिए।
पूर्वराजाले प्रजातन्त्रलाई सबल बनाउन राजा र जनताले खेलेको भूमिकाको स्मरण गर्दै राष्ट्रिय एकता, स्थायित्व र समृद्धिको आवश्यकतामा जोड दिए। उनले भने, “निषेधको राजनीतिले प्रजातन्त्रलाई सुदृढ बनाउन सक्दैन। पक्ष-विपक्षको अहंकार, व्यक्तिगत स्वार्थ र हठवादले प्रजातन्त्रलाई गतिशील बनाउने होइन, कमजोर पार्ने काम गर्छ।”
देशमा विद्यमान आर्थिक संकट, जनशक्ति पलायन र राष्ट्रिय पहिचान कमजोर बन्दै गइरहेकोप्रति पूर्वराजाले चिन्ता व्यक्त गरे। उनले भने, “नेपाली नागरिकहरू जन्मजात ऋणको भारी बोकेर अघि बढ्न बाध्य छन्। शिक्षालयहरू कमजोर बन्दै गएका छन्, व्यापार र उद्योग संकटग्रस्त छन्, र नेपालीहरूको पसिना आफ्नै भूमिमा भन्दा विदेशमा बगिरहेको छ।” उनले राष्ट्रिय स्वाभिमान र पहिचानलाई बलियो बनाउन सबै नेपालीको ऐक्यबद्धता आवश्यक रहेको उल्लेख गरे।
पूर्वराजा शाहले इतिहासबाट पाठ सिक्दै मुलुकलाई स्थायित्व, समृद्धि र सशक्त बनाउने दिशामा अघि बढ्नुपर्ने बताए। उनले जोड दिँदै भने, “अब समय आएको छ, राष्ट्रलाई जोगाउने, राष्ट्रिय एकतालाई सुदृढ गर्ने र समृद्धिको मार्गमा अघि बढ्ने। यस महत्त्वपूर्ण यात्रामा सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको साथ आवश्यक छ।”
उनले सन्देशको अन्त्यमा सम्पूर्ण नेपालीहरूलाई राष्ट्रको हितलाई पहिलो प्राथमिकतामा राख्न आह्वान गर्दै नेपालका लागि शुभकामना व्यक्त गरे।
प्रकाशित मिति: ६ फाल्गुन २०८१, मंगलबार












प्रतिक्रिया