काठमाडौं । पोखरामा आयोजित भ्रमण वर्ष उद्घाटन कार्यक्रममा बेलुन पड्किएको घटनामा संलग्न भारतीय नागरिक कमलेश कुमारलाई अभद्र व्यवहारको मुद्दामा प्रहरीले हिरासतमा राखेको छ।

कमलेश कुमारलाई कास्की जिल्ला प्रहरी कार्यालयले फागुन ६ गते पक्राउ गरेको हो। फागुन ३ गते पोखरास्थित सभागृहमा भ्रमण वर्षको उद्घाटनको अवसरमा हाइड्रोजन ग्यासले भरेको बेलुनको नजिकबाट बलिरहेको बत्तीबाट निस्केका झिल्काले बेलुन पड्किएर दुर्घटना घटेको थियो। यस घटनामा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए।

advertisement

कीर्तिपुर अस्पतालमा उपचारपछि अर्थमन्त्री पौडेल फागुन ६ गते डिस्चार्ज भए भने मेयर आचार्यको उपचार जारी छ।

हाइड्रोजन ग्यासको प्रयोग मानव स्वास्थ्यका लागि जोखिमपूर्ण मानिन्छ र यसै कारण दुर्घटना भएको हो। ग्यासको प्रयोगमा लापरवाही गरेको आरोपमा ४१ वर्षीय भारतीय नागरिक कमलेश कुमारलाई पक्राउ गरिएको हो।

एसपी श्याम ओलियाका अनुसार, कुमारले हाइड्रोजन ग्यास निर्माण गर्ने काम पनि गर्दै आएका थिए। “कसरी घटना घटेको हो र कुन कुन कानूनी धारामा मुद्दा दर्ता गर्ने भन्ने बारे अनुसन्धान भइरहेको छ,” एसपी ओलियाले बताए।

कास्की प्रहरीले कुमारको कोठाबाट हाइड्रोजन ग्यास बनाउने कच्चा पदार्थ पनि बरामद गरेको जानकारी दिएको छ। उक्त कच्चा पदार्थको प्रयोगशाला परीक्षणको लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ। रिपोर्ट प्राप्त भएपछि मात्र थप कानूनी कदम चालिने बताइएको छ।

यसै क्रममा, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि दुवाडीको अध्यक्षतामा गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ७ फाल्गुन २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com