काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक परिवर्तनलाई निष्क्रिय पार्ने उद्देश्यसहित पूर्वराजा ज्ञानेन्द्र शाहलाई अघि सारिएको टिप्पणी गरेका छन्।
कपिलवस्तुमा आयोजित नेकपा एमालेको वडा केन्द्रित अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै महासचिव पोखरेलले २०६२/६३ को जनआन्दोलनले राजसंस्थाको अन्त्य गर्दै लोकतान्त्रिक व्यवस्था स्थापना गरे पनि पछिल्ला दिनमा पञ्चायती प्रवृत्ति पुनः जन्मने संकेत देखिएको टिप्पणी गरे। उनले राजनीतिक परिवर्तनलाई कमजोर पार्न खोज्ने केही शक्तिहरूले पूर्वराजालाई प्रोत्साहित गर्दै वक्तव्यबाजी गराउने रणनीति अपनाएको आरोप लगाए।
‘पञ्चायती भूत फेरि सल्बलाउन थालेको छ’
महासचिव पोखरेलले भने, ‘आजभोलि फेरि पञ्चायती भूत सल्बलाउन थालेको छ। पूर्वराजालाई अगाडि सारेर राजनीतिक परिवर्तन समाप्त गर्ने षड्यन्त्र भइरहेको छ।’ उनले पार्टी कार्यकर्ताहरुलाई लोकतान्त्रिक परिवर्तनलाई थप संस्थागत गर्दै पूर्ण क्रान्ति सफल बनाउने अभियानमा जुट्न निर्देशन दिए।
उनले जोड दिँदै भने, ‘राजसंस्थाको अन्त्य गरेर राजनीतिक क्रान्ति मात्र सम्पन्न भएको छ। अब यसलाई संस्थागत गर्दै पूर्ण क्रान्ति सफल बनाउनु आवश्यक छ।’ उनका अनुसार, स्थायित्व र सशक्त राजनीतिक व्यवस्थाका लागि बलिया राजनीतिक शक्ति निर्माण गर्नु अपरिहार्य छ।
‘बलिया दल आवश्यक, तर खुद्रा राजनीतिक पसलको जरुरत छैन’
महासचिव पोखरेलले मुलुकमा अस्थिरता अन्त्य गर्न दुई सशक्त राजनीतिक शक्तिहरूको आवश्यकतामा जोड दिँदै भने, ‘मैले जब बलिया दुई दल चाहिन्छ भन्ने कुरा राख्छु, तब मलाई नयाँ दल खोल्न रोक लगाउन खोजेको आरोप लाग्छ। तर म दल खोल्न निषेध गर्ने पक्षमा छैन।’
उनले थप स्पष्ट पार्दै भने, ‘दल खोल्न प्रतिबन्ध लगाउने होइन, तर थ्रेसहोल्डको प्रतिशत बढाउनु पर्छ। जनताको समर्थन हासिल गरेर सत्तामा पुग्नुपर्छ, तर अनियन्त्रित रूपमा साना-साना दल खोल्ने प्रवृत्ति उचित होइन। राजनीतिक स्थिरताका लागि खुद्रा राजनीतिक पसलको कुनै आवश्यकता छैन।’
प्रकाशित मिति: ७ फाल्गुन २०८१, बुधबार












प्रतिक्रिया