काठमाडौं – नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालबारे दिएको अभिव्यक्तिले धेरै प्रश्न उब्जिएको भन्दै सरकारले यसको छानबिन गर्नुपर्ने माग गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै सांसद भण्डारीले राष्ट्रभन्दा ठूलो कोही हुन नसक्ने भन्दै राष्ट्रिय सम्पत्ति र गरिमालाई कमजोर बनाउने तत्वहरूलाई कुनै पनि हालतमा छुट दिन नहुने बताएका छन्।
राष्ट्रपति ट्रम्पले हालै एक पत्रकार सम्मेलनमा अमेरिकाले नेपाललाई प्रदान गरेको आर्थिक सहायता ‘फ्रड’ भएको अभिव्यक्ति दिएका थिए। उनले नेपालको संघीयता सुदृढीकरणका लागि विनियोजित २० मिलियन डलर तथा जैविक विविधता संरक्षणका लागि छुट्याइएको १९ मिलियन डलर रोकिएको जानकारी गराउँदै उक्त सहायता अपारदर्शी रहेको संकेत गरेका थिए।
सांसद भण्डारीले ट्रम्पको अभिव्यक्तिले गम्भीर प्रश्नहरू उठाएको उल्लेख गर्दै सरकारलाई तत्काल अनुसन्धान गर्न आग्रह गरे। उनले लेखेका छन्, ‘अमेरिकी राष्ट्रपति ट्रम्पको अभिव्यक्तिले नेपालप्रति गम्भीर प्रश्नहरू खडा गरेको छ। देश, समाज र संस्कृतिलाई कमजोर बनाउने तत्वहरूलाई छुट दिनु हुँदैन। के वास्तवमा यस्तो भएको थियो? के भइरहेको छ? सरकारले तत्काल छानबिन गर्न आवश्यक छ। राष्ट्रभन्दा ठूलो कोही हुन सक्दैन।’
प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहिबार












प्रतिक्रिया