काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा दिएको अभिव्यक्तिबाट राजावादीहरु हौसिन जरुरी नरहेको बताएका छन्।
बिहीबार एमालेनिकट प्रेस चौतारी नेपालले सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनामा बोल्दै भट्टराईले ज्ञानेन्द्रको वक्तव्यले राजाबादी सल्बलाउनुको अर्थ नभएको र राजा बन्छु भन्ने ज्ञानेन्द्रको अभिलाषा पनि अब पूरा नहुने उनले बताए । राजालाई २५० वर्षसम्म मौका दिएको स्मरण गर्दै उनले फेरि राजा हुन्छु भन्ने सपना नदेख्न चेतावनी दिएका छन्।
‘उहाँको वक्तव्यपछि राजावादीहरू चम्किँदै छन्, गणतन्त्र फेल भयो भनेर मौका मागिरहेका छन् । २५० वर्षसम्म मौका दिएकै हो उनले भने उहाँकै कारण राजतन्त्रको अन्त्य भएर जनताको शासन गर्ने गणतन्त्र आएको हो,’ उनले भने, ‘फेरि राजा बन्छु भन्नु सुहाउँदो कुरा होइन’।
फरक प्रसंगमा पूर्व मन्त्रीसमेत रहेका नेता भट्टराईले सरकारले ल्याएका ६ वटै अध्यादेश संसद्को दुवै सदनबाट पारित हुने दाबी गरेका छन् । सरकारलाई सकसमा पारेको भूमि अध्यादेश पनि पारित हुने उनको जिकिर छ । नेकपा एस र जसपाले अध्यादेशका पक्षमा नलाग्ने निर्णय गरिसकेको अवस्थामा अध्यादेश कसरी पास हुन्छभन्ने प्रश्नमा उनले भने, ‘त्यो उपाय अहिले खुलाउन मिल्दैन। राष्ट्रिय सभाका माननीयज्यूहरू परिपक्व हुनुहुन्छ । उहाँहरू देशका पक्षमा आएको अध्यादेशलाई पारित गराउन सहयोग गर्नुहुन्छ ।’
नेता भट्टराईले ०८४ सालको आम निर्वाचनमा नेकपा एमालेले एकल बहुमत ल्याउने दाबी गरेका छन् । उनले वलियो सरकार निर्माणका लागि एमालेले एकल बहुमत ल्याउनुपर्ने र त्यसैको लागि आफूहरुले काम गरिरहेको बताए ।’संसदमा पक्ष र विपक्षी बलियो हुनुपर्छ,०८४ पछि एमालेले एक्लै बहुमत ल्याएर सरकार बनाउने छु’, उनले भने, ‘यो हाम्रो दाबी हो ।’
प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहिबार












प्रतिक्रिया