काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने अन्तिम तयारीस्वरूप आज साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ५ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठकमा घिसिङलाई पदमुक्त गर्ने सम्बन्धमा अन्तिम निर्णय हुने बालुवाटार स्रोतले जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र कार्यकारी निर्देशक घिसिङबीच लामो समयदेखि मतभेद देखिँदै आएको छ।
यही विवादकै क्रममा मन्त्री खड्काले गत पुस २२ गते घिसिङलाई स्पष्टीकरण मागेका थिए। मन्त्रालयले पठाएको ९ बुँदे स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको निष्कर्षसहित उनलाई पदमुक्त गर्ने प्रक्रिया अघि बढाइएको स्रोतको दाबी छ।
मन्त्रालयको निर्णयप्रति असहमति जनाउँदै घिसिङले आफ्नो जवाफमा ‘नोट अफ डिसेन्ट’ लेखेका थिए, जसलाई आधार बनाई उनलाई पदमुक्त गर्ने निर्णय हुन लागेको बताइएको छ।
यसअघि नै मन्त्री खड्काले मन्त्रिपरिषद्मा घिसिङलाई हटाउने प्रस्ताव पेश गरेका थिए। तर, सत्तारूढ कांग्रेसका केही मन्त्रीहरूले असहमति जनाएपछि तत्कालीन बैठकमा निर्णय हुन सकेको थिएन।
हाल भने मन्त्रिपरिषदभित्र अनौपचारिक सहमति भइसकेको र घिसिङलाई पदमुक्त गर्ने पत्र हस्तान्तरण गर्न मात्र बाँकी रहेको बालुवाटार स्रोतको भनाइ छ।
प्रकाशित मिति: १२ फाल्गुन २०८१, सोमबार













प्रतिक्रिया