काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र दिगो विकासलाई सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले देशमा भएको विकास र प्रगतिलाई स्वीकार्दै थप सुधार र कार्यान्वयन आवश्यक रहेको उल्लेख गरे। ओलीले आफ्नो तीन वर्षे कार्यकालमा महत्वपूर्ण परिवर्तन गरेको दाबी गर्दै, पछिल्लो समय ती विकास प्रक्रियाहरू अवरुद्ध भएको बताए।

advertisement

प्रधानमन्त्री ओलीका अनुसार, नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहकार्यको मुख्य उद्देश्य विगतमा रोकिएका विकास योजनाहरूलाई पुनः सशक्त रूपमा अघि बढाउनु हो। उनले वर्तमान सरकार सुशासन र आर्थिक वृद्धिलाई तीव्र बनाउँदै देशलाई समृद्धिको यात्रामा अघि बढाइरहेको बताए।

ओलीले भने- “विकासका महत्त्वपूर्ण काम भएका छन्, तर अझै धेरै गर्न बाँकी छ। मेरो नेतृत्वमा तीन वर्षको अवधिमा असाधारण परिवर्तन भए। तर, त्यसपछिका तीन वर्षले त्यसलाई निरन्तरता दिन सकेनन्। अहिले नेपाली कांग्रेस र नेकपा एमालेले संयुक्त रूपमा सरकार बनाएका छौँ, किनभने देशलाई स्थिरता, सुशासन र समृद्धितर्फ लैजान आवश्यक छ।”

उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार, ऊर्जा तथा सञ्चार क्षेत्रमा सन्तुलित र दिगो विकास अनिवार्य रहेको उल्लेख गरे। विज्ञान तथा प्रविधिका नवीनतम उपलब्धिहरूलाई आम नागरिकसम्म पुर्‍याउनु सरकारको प्राथमिकता भएको उनले बताए।

ओलीले हाल पनि करिब २० प्रतिशत नेपाली जनता गरिबीको रेखामुनि रहेको उल्लेख गर्दै आर्थिक समृद्धि सरकारको प्रमुख लक्ष्य रहेको स्पष्ट पारे। साथै, उनले बालबालिकाहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै, समृद्ध नेपाल निर्माणका लागि सबै क्षेत्रबाट योगदान आवश्यक रहेको बताए।

प्रकाशित मिति: १३ फाल्गुन २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com