काठमाडौं – सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त गर्ने उमेर हद वृद्धि गर्ने तयारी गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रस्तावित सवारी तथा यातायात व्यवस्थापन ऐन २०८१ को मस्यौदा तयार पारेको छ, जसअनुसार चालक अनुमतिपत्र प्राप्त गर्न आवश्यक न्यूनतम उमेरमा संशोधन गर्न लागिएको छ।
हाल लागू रहेको सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार, मोटरसाइकल तथा दुई वा तीन पाङ्ग्रे सवारीका लागि १६ वर्ष पूरा गरेपछि लाइसेन्स लिन पाइन्छ। तर, प्रस्तावित नयाँ कानुनअनुसार अब न्यूनतम उमेर १८ वर्ष तोक्ने तयारी गरिएको छ।
यसैगरी, ठूला सवारी साधन (बस, ट्रक आदि) चलाउन हाल २१ वर्ष पूरा गर्नुपर्ने प्रावधान छ। नयाँ ऐनले यसलाई बढाएर २३ वर्ष पुर्याउने प्रस्ताव गरेको छ। त्यस्तै, मझौला तथा साना सवारी (कार, भ्यान, ट्याक्सी आदि) चलाउन आवश्यक उमेर हाल १८ वर्ष रहेकोमा नयाँ प्रस्तावमा २१ वर्ष पुर्याउने व्यवस्था गरिएको छ।
सरकारको यो संशोधन प्रस्ताव सडक सुरक्षालाई थप प्रभावकारी बनाउन तथा सवारीसाधन सञ्चालनलाई व्यवस्थित गर्न ल्याइएको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १५ फाल्गुन २०८१, बिहिबार













प्रतिक्रिया