काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमालेसँगको राजनीतिक सहकार्यका कारण माओवादीभित्र पनि उनीहरूको विकृति प्रवेश गरेको भन्दै अब त्यसको उपचारका लागि जनताको बीचमा गएको स्पष्ट पारेका छन्।

धनुषाको हंसपुर नगरपालिकामा आयोजित ‘जनतासँग माओवादी, तराई-मधेस जागरण अभियान’ अन्तर्गतको जागरण तथा खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टीभित्र देखिएका समस्याहरूलाई आत्मसात् गर्दै सुधारका लागि जनताको साथ लिन खोजिएको बताए।

advertisement

“कहिले कांग्रेससँग, कहिले एमालेसँग सहकार्य गर्दा गर्दै तिनका समस्याहरू हाम्रो पार्टीभित्र पनि देखिन थाले,” अध्यक्ष दाहालले भने, “त्यसैले पार्टीभित्र गम्भीर छलफलपछि निष्कर्ष निकालेका छौं कि यसको एक मात्र उपचारकर्ता जनता नै हुन्।”
अध्यक्ष दाहालका अनुसार, माओवादीप्रति विश्वास राखेका लाखौं जनताको अपेक्षा पूरा गर्न नसक्नु कमजोरी हो। त्यसैले, केन्द्रीय समिति बैठकको निर्णयअनुसार, पार्टीलाई सुधार गर्दै पुनः जनताको बीचमा फर्कने उद्देश्यसहित यो अभियान थालिएको हो।

उनले विशेषगरी हुलाकी मार्ग क्षेत्रका उत्पीडित समुदायहरूका वास्तविक समस्याहरू नजिकबाट बुझ्न अभियानलाई जनताको घरदैलोमा पुर्‍याइएको बताए। “जनताको घरमै गएर बस्ने, उनीहरूसँगै खानपान गर्ने, वास्तविक अवस्था बुझ्ने प्रयास गरिरहेका छौं,” दाहालले स्पष्ट पारे।
अध्यक्ष दाहालले हुलाकी मार्ग केन्द्रित अभियानले नेपालको दक्षिणी भूभागको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले आफ्नो प्रधानमन्त्रीत्वकाल (२०७३) मा भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी हुलाकी मार्गको अवरुद्ध योजना अघि बढाएको स्मरण गराए।

साथै, उनले मधेसवादी नक्कली दलहरूप्रति सतर्क रहन आह्वान गर्दै मधेसको मुक्तिविना नेपाल स्वतन्त्र हुन नसक्ने विचार व्यक्त गरे। उनले माओवादीले मधेसी मुक्तिका लागि थालिएको संघर्षलाई निरन्तरता दिँदै एक हजार तीन सयभन्दा बढी सहिदहरूको बलिदानको सपना साकार पार्ने जिम्मेवारी लिने प्रतिबद्धता जनाए।

“हामीले मधेसी मुक्ति मोर्चा गठन गरेरै जनयुद्ध सुरु गरेका थियौं, अहिले पनि मधेस र वर्गीय मुक्तिको लक्ष्यमा दृढ छौं,” दाहालले जोड दिए।

 

प्रकाशित मिति: १८ फाल्गुन २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com