काठमाडौं – अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका नेपालीहरूलाई लिएर एक विशेष चार्टर जहाज आज काठमाडौं अवतरण गर्ने तयारीमा छ। अमेरिकी अध्यागमन कानुन उल्लंघन गरेका नेपालीहरूलाई स्वदेश फर्काउन उक्त विमान आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ।
निष्कासित व्यक्तिहरूमध्ये केहीलाई अमेरिकी अध्यागमन अदालतले देश निकाला गर्ने आदेश दिएको थियो भने केहीलाई त्यहाँको अधिकारीहरूले गैरकानुनी रूपमा कार्यरत अवस्थामा पक्राउ गरेका थिए। यो पहिलो पटक हो, जब अवैध आप्रवासी नेपालीहरूलाई स्वदेश फर्काउन अमेरिकाले चार्टर जहाज प्रयोग गर्न लागिएको छ।
डोनाल्ड ट्रम्पले गत जनवरी २० मा अमेरिकी राष्ट्रपति पदको सपथ लिएपछि गैरकानुनी रूपमा बसिरहेका आप्रवासीहरूमाथि कडा नीति अपनाएका छन्। ट्रम्प प्रशासनले आप्रवासन नियम उल्लंघन गर्नेहरूलाई तीव्र रूपमा अमेरिका बाहिर पठाउने नीति लिएको छ।
यसअघि अमेरिकी अध्यागमन तथा सीमा सुरक्षा निकाय इमिग्रेशन एन्ड कस्टम इन्फोर्समेन्ट (ICE) ले अवैध रूपमा बसिरहेका नेपालीहरूलाई विभिन्न व्यावसायिक एयरलाइन्समार्फत नेपाल फर्काउने गर्थ्यो। तर, यसपटक चार्टर जहाजमार्फत ११ नेपालीलाई स्वदेश फर्काइने तयारी गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार यो संख्या परिवर्तन हुन सक्ने सम्भावना पनि छ।
झन्डै एक महिनाअघि नेपालस्थित अमेरिकी दूतावासले गृह मन्त्रालयलाई निष्कासित नेपालीहरूलाई चार्टर जहाजमार्फत फर्काउने योजना रहेको जानकारी गराएको थियो। पछिल्लो दुई महिनामा मात्रै अमेरिकाले कम्तीमा २९ नेपालीलाई निष्कासन गरिसकेको छ। जनवरी २० यताको अवधिमा निष्कासनको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको बताइएको छ।
ICE को प्रतिवेदनअनुसार अमेरिकामा अवैध रूपमा बसिरहेका नेपालीहरू पछिल्लो समय बढ्दो रूपमा अध्यागमन अधिकारीहरूको निशानामा परिरहेका छन्। विशेष गरी, विद्यार्थी भिसामा अमेरिका गएर नियमविपरीत रोजगारी गर्ने नेपालीहरूमाथि कडा निगरानी राखिएको छ। अमेरिका निष्कासित नेपालीहरूमाथि अवैध प्रवेश, गैरकानुनी रूपमा बसोबास तथा अध्यागमन कानुन उल्लंघन गरेको आरोप लगाइएको छ।
प्रकाशित मिति: २१ फाल्गुन २०८१, बुधबार













प्रतिक्रिया