काठमाडौं – साँखुस्थित एक अनाथालयमा सुतिरहेका व्यक्तिमाथि टिपर पसेर तीन जनाको ज्यान गएको छ। शुक्रबार बिहान करिब ३:४० बजे अनियन्त्रित भएर बा २ क ६५८० नम्बरको टिपर अनाथालयको कोठामा पसेपछि यो दर्दनाक दुर्घटना भएको हो।
सिन्धुपाल्चोक मेलम्ची–१२ का २५ वर्षीय सागर माझीले चलाएको टिपर शंखरापुर नगरपालिका–६, साँखु सलम्बुटारस्थित साँखु ब्रमखेल सडकखण्डबाट अनियन्त्रित हुँदै द्वन्द्व पीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको जस्ताको टहरामा छिरेको प्रहरीले जनाएको छ।
तीनजनाको मृत्यु, अन्य घाइते
टिपरको ठक्करबाट २१ वर्षीय आकाश, २१ वर्षीय सुमन र ४५ वर्षीय हरिजनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए। दुर्घटनामा घाइते भएका अन्य व्यक्तिहरूलाई नेपाल मेडिकल कलेज अत्तरखेल लगिएको थियो, जहाँ तीनै जनालाई मृत घोषणा गरिएको हो।
अनाथालयमा ६१ जना बस्दै
दुर्घटनामा परेको अनाथालय युबराज थापाले सञ्चालन गर्दै आएका छन्, जहाँ ६१ जना बालबालिका तथा अपांगता भएका व्यक्ति बस्दै आएका छन्। टिपर पसेको कोठामा १० जना सुतिरहेका थिए।
हाल टिपर र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २३ फाल्गुन २०८१, शुक्रबार













प्रतिक्रिया