काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले नेपालमा उदार लोकतन्त्र भएकै कारण पूर्वराजा स्वतन्त्र रूपमा रहेको बताएका छन्। अन्य देशहरूमा व्यवस्था परिवर्तन भएपछि राजतन्त्रका पात्रहरूको सम्पत्ति जफत गरी जेलमा राख्ने इतिहास रहेको उनले बताए।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरूङले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै उनको पछिल्लो अभिव्यक्तिप्रति कडा टिप्पणी गरे। उनले पूर्वराजा शाहको “फेरि फर्कन्छु” भन्ने अभिव्यक्तिलाई हैसियत बिर्सिएको संकेतका रूपमा व्याख्या गरे।
“नेपाल एक उदार लोकतान्त्रिक मुलुक हो। अन्य देशमा यस्ता पूर्वराजा वा राजपरिवारका सदस्यहरूलाई व्यवस्था परिवर्तनपछि जेलमा राख्ने वा उनीहरूको सम्पत्ति जफत गर्ने इतिहास छ। हाम्रो देशले उदारताको पराकाष्ठा देखाएर पूर्वराजालाई नागार्जुन दरबारमा सुरक्षासहित राखेको छ,” उनले भने।
मन्त्री गुरूङले पूर्वराजाद्वारा लोकतान्त्रिक राजनीतिक दलहरूलाई कटाक्ष गर्दै पुनः सत्ता प्राप्त गर्ने संकेत दिने अभिव्यक्तिलाई “नितान्त असंगत” भने। “उनी आज हामीले दिएको सुरक्षामा बसेरै फेरि फर्किन्छु भन्ने धृष्टता देखाइरहेका छन्। उनले आफ्नो वास्तविक स्थिति भुल्न मिल्दैन।”
उनले ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा लगाउनेहरूलाई पनि प्रश्न गर्दै भने, “राजाले कसरी देश बचाउँछन्? आफ्नो दरबारको रक्षा गर्न नसक्ने, आफ्नो शासन टिकाउन नसक्ने, कानुन माथि राखेर शासन गर्ने राजतन्त्र फेरि फर्कन्छ भनेर सोच्नु मूर्खता हो।”
मन्त्री गुरूङले राजसंस्था फर्कने कल्पना गर्नेहरूलाई समाज र लोकतन्त्र विरोधीको संज्ञा दिँदै नेपालमा राजतन्त्रको कुनै सम्भावना नरहेको स्पष्ट पारे। “केही राजावादीहरूले सडकमा प्रदर्शन गर्दैमा राजतन्त्र फर्कने होइन। इतिहासले अगाडि बढिसकेको छ, नेपाल अब लोकतान्त्रिक मूल्यमान्यताबाट पछि हट्ने छैन,” उनले थपे।
प्रकाशित मिति: २३ फाल्गुन २०८१, शुक्रबार












प्रतिक्रिया