काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद डा. शेखर कोइरालाले जनताको अपेक्षा पूरा गर्न नसक्दा राजतन्त्र पुनःस्थापनाको माग उठ्दै गएको बताएका छन्।
शुक्रवार झापामा आयोजित एक कार्यक्रममा बोल्दै उनले नागरिक असन्तुष्ट भइरहँदा विभिन्न देशहरूमा समेत राजतन्त्र फिर्ताको बहस हुने गरेको उल्लेख गरे। नेपालमा मात्र नभई फ्रान्सलगायतका देशहरूमा पनि राजतन्त्रको पक्षमा चर्चा हुने गरेको उदाहरण दिँदै उनले नागरिकहरूले अपेक्षित परिवर्तन महसुस गर्न नसकेको संकेत गरे।
गणतन्त्रप्रति जनतामा आशा र भरोसा कायम राख्न सकियो कि सकिएन भन्ने कुरा गम्भीर आत्मसमीक्षा आवश्यक रहेको उनले बताए । “गणतन्त्रका रक्षकहरूले जनताको मन जित्न सकेनन् भने असन्तुष्टि बढ्दै जान्छ,” उनले भने।
उनले थपे, “अन्य व्यक्तिहरूले पूर्वराजा भन्छन्, तर म उहाँलाई राजा नै भन्छु। कार्यकारी जिम्मेवारी सम्हालेको व्यक्तिलाई ‘पूर्व’ भन्ने चलन नेपालबाहेक अन्यत्र देखिँदैन। संसारभरि राजतन्त्रको चर्चा कतै न कतै भइरहेकै हुन्छ। उदाहरणका लागि, यदि तपाईं पेरिस जानुभयो भने त्यहाँ एउटा चिया पसल छ, जहाँ अझै पनि ‘राजा फर्किनुपर्छ’ भन्ने बहस चल्छ। यसले देखाउँछ कि व्यवस्था परिवर्तन भएपछि पनि असन्तुष्टि मेटिँदैन।”
उनले गणतन्त्रलाई बलियो बनाउन नेताहरूले परिणाममुखी काम गर्नुपर्नेमा जोड दिँदै भने, “हामीले जनताको मन जित्ने गरी काम गर्न सक्नुपर्छ। गणतन्त्र ल्यायौँ, तर यसले जनतामा आशा जगायो कि जगाएन? यो प्रमुख प्रश्न हो। जहाँसम्म राजतन्त्र पुनःस्थापनाको कुरा छ, मलाई लाग्दैन कि त्यो सम्भव छ। समय धेरै अगाडि बढिसकेको छ। अबको बाटो भनेको लोकतान्त्रिक व्यवस्थालाई प्रभावकारी बनाउने हो।”
प्रकाशित मिति: २३ फाल्गुन २०८१, शुक्रबार












प्रतिक्रिया