काठमाडौं । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले राजतन्त्र पुनःस्थापनाको मागलाई निरर्थक भन्दै कडा प्रतिक्रिया दिएका छन्।
शनिबार आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले भने, “मुलुक बचाउन राजा आउनुपर्छ भन्ने कुरा नादानी मात्र हो। जुन राजाले आफ्नो परिवार जोगाउन सकेन, दरबार जोगाउन सकेन, उसले देश जोगाउने कसरी सक्छ? जनतालाई सुरक्षित राख्ने सामर्थ्य उसँग कहाँ छ?”
उनले राजतन्त्र पुनःस्थापनाको माग गर्नेहरूमाथि कटाक्ष गर्दै थपे, “त्यस्ता निराधार कुरामा बहस गर्नु नै आवश्यक छैन। समाजलाई फेरि अन्धकार युगमा फर्काउन चाहनेहरूसँग हामी लड्नुपर्छ। हामी लोकतन्त्रमा विश्वास गर्छौं, जहाँ जनताले आफ्ना नेता आफैं चुन्न सक्छन्। लोकतन्त्रमा राजा झैँ कसैलाई अकस्मात् सिंहासनमा राख्ने व्यवस्था हुँदैन।”
मन्त्री गुरुङले लोकतन्त्र नै जनताको सर्वोच्च अधिकारको रक्षा गर्ने एकमात्र प्रणाली भएको उल्लेख गर्दै भने, “जो कोही लोकतन्त्रविरुद्ध उभिन्छ, त्यो जनविरोधी र देशविरोधी हो भन्ने बुझ्नुपर्छ।”
हाल देशभर राजसंस्थाको पुनःस्थापनाको माग गर्दै विभिन्न प्रदर्शनहरू भइरहेका छन्।
प्रकाशित मिति: २५ फाल्गुन २०८१, आइतबार












प्रतिक्रिया