काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शम्शेर राणालाई कडा आलोचना गर्दै राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डा त्याग्न सुझाव दिएका छन्।

प्रसाईंले युट्युब च्यानलमा सार्वजनिक गरेको भिडियोमा भने, “राजेन्द्र लिङ्देन र धवल दाइलाई भन्छु– तपाईंहरू आजदेखि राजा र हिन्दु अधिराज्यको कुरा नगरिदिनुस्। त्यो माग उठाउने काम हामीले गरेका हौं। राजालाई सडकमा ल्याउने अभियान त मैले थालेको हुँ। त्यसअघि राजा मन्दिरमै सीमित हुनुहुन्थ्यो, हाम्रो प्रयासपछि मात्र उहाँ आम जनतामाझ आउनुभएको हो।”

advertisement

उनले राप्रपालाई जनताको मागको राजनीति गर्ने तर सत्तामा रमाउने पार्टीको रूपमा चित्रित गरे। “राप्रपाले केवल एजेन्डा देखाउने तर अन्त्यमा मन्त्री पद मात्र खोज्ने प्रवृत्ति देखिन्छ,” उनले भने, “यदि साँच्चै राजसंस्थाप्रति माया छ भने, सांसद पद त्यागेर सडकमा आउनुस्। नत्र जनताले तपाईंहरूलाई किन विश्वास गर्ने?”

त्यसैगरी, ८६ वर्षीय नवराज सुवेदीले राप्रपा त्यागेको उदाहरण दिँदै प्रसाईंले स्पष्ट पारे, “नवराज सुवेदीजस्तो व्यक्ति पनि पार्टी छाडेर निस्किनुभयो। किन? किनभने उहाँलाई थाहा भयो कि यो पार्टीको नियत के हो।”

राजसंस्थाको पुनर्बहालीबारे प्रश्न उठ्दा प्रसाईंले राप्रपाका शीर्ष नेताहरूको क्रियाकलापप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे। “म हिजोको स्थिति हेर्दा अचम्म परेँ – पशुपति शम्शेर निदाइरहनुभएको थियो, प्रकाशचन्द्र लोहनीले कुनै उत्साह देखाउनुभएन, कार्यक्रम सुरू भएपछि विक्रम पाण्डे उठेर हिँड्नुभयो। यस्तो अवस्थामा राजाले यिनीहरूबाट कुनै आशा राख्नुहुँदैन,” उनले टिप्पणी गरे।

प्रसाईंले हालको राजनीतिक व्यवस्थामा परिवर्तन आउने दाबी गर्दै भने, “यो व्यवस्था अब धेरै टिक्दैन। परिवर्तनको समय आइसकेको छ।”

प्रकाशित मिति: ५ चैत्र २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com