काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले दलगत कमजोरी र नेतृत्वगत समस्यालाई देखाएर राजतन्त्र पुनर्स्थापनाको बहस चलाइनु अत्यन्त हास्यास्पद र अविवेकी तर्क भएको बताएका छन्।

शनिबार सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा ‘राजतन्त्र र लोकतान्त्रिक गणतन्त्र’ शीर्षक पुस्तकको अंश उद्धृत गर्दै उनले हालका केही व्यक्तिहरूबाट उठाइएको राजतन्त्र फर्काउने विचारप्रति तीव्र आपत्ति जनाएका हुन्।

advertisement

उनको भनाइमा, “नेपालमा अहिले राजनीतिक दलहरूभित्रै राजा–रजौटा प्रवृत्ति मौलाउँदै गएको छ। तर त्यसकै नाममा फेरी पुरानै मृत राजतन्त्र ब्युँताउनु पर्ने भन्ने कुतर्क उठ्न थालेको देखिन्छ, जुन हास्यास्पद मात्र होइन, खतरनाक पनि हो।”

डा. भट्टराईले आफ्नो अतीतको प्रसंग पनि स्मरण गरेका छन्। २०६१ साल माघ ६ गते उनले लेखेको एउटा लेखको चर्चा गर्दै उनले भनेका छन्, “त्यसै लेखलाई लिएर तत्कालीन पार्टी अध्यक्ष प्रचण्डले माघ १६ गते हामीमाथि कारबाही गरे — त्यो समयमा राजा ज्ञानेन्द्रले सम्पूर्ण सत्ता हातमा लिएको माघ १९ भन्दा केही दिनअघि हो। अहिले त्यो सबै इतिहास बनिसकेको छ, तर नयाँ पुस्ताले त्यसबाट सिक्न जरुरी छ।”

उनले राजनीतिक कमजोरीलाई बहाना बनाएर लोकतान्त्रिक प्राप्तिहरूमाथि धावा बोल्न खोज्ने प्रयासप्रति सावधानी अपनाउन सबैलाई आह्वान गरेका छन्।

प्रकाशित मिति: २२ चैत्र २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com