विराटनगर । सुनसरीको धरानको जंगल क्षेत्रमा महिलाको शव फेला परेको छ । सोमबार दिउँसो धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा महिलाको शव फेला परेको हो।
गोठालो गएकाहरूले जंगलभित्रको लसुनेको रुख मुनी अडेसा लागेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रारम्भिक अनुसन्धानका क्रममा महिलाको हत्या गरी शव जंगलमा छाडेको जस्तो देखिएको प्रहरीले बताएको छ । ३०– ३५ वर्षको जस्तो देखिने महिलाको घाँटीमा चोट छ।
सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले शव भेटिएपछि अनुसन्धान सुरु गरेको बताए । शवको पहिचानको प्रयास भइरहेको बताउँदै उनले घटनास्थलबाट शवलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको बताए।
शव भेटिएपछि घटनास्थलमा प्रहरीको फरेन्सिक विज्ञसहितको प्राविधिक टोलीले कुकुर पनि प्रयोग गरेको थियो । घटना शंकास्पद भएकाले सुक्ष्म रुपमा अनुसन्धान भइरहेको तिम्सिनाले बताएका छन् ।
प्रकाशित मिति: २४ चैत्र २०८१, सोमबार













प्रतिक्रिया