काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले देशको दिगो समृद्धिका लागि ऊर्जा क्षेत्रको विकास अपरिहार्य रहेको बताएका छन्।

बुधबार सान्जेन खोला जलविद्युत् आयोजनाको शिलान्यास समारोहमा बोल्दै मन्त्री खड्काले आगामी १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्यसहित सरकार अघि बढिरहेको जानकारी दिए।

advertisement

उनले ऊर्जा क्षेत्रको विस्तारसँगै नेपालले दुई ठूला छिमेकी मुलुकहरू—भारत र चीनसँग काँधमा काँध मिलाएर अघि बढ्ने अठोट लिएको उल्लेख गरे। “हामी हाम्रो ऊर्जा क्षमताको भरपूर उपयोग गर्दै मित्रराष्ट्रहरूसँग सहकार्य गर्दै अगाडि बढ्न चाहन्छौं,” उनले भने।

मन्त्री खड्काले पछिल्ला वर्षहरूमा जलविद्युत् क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी उल्लेख्य रूपमा बढेकोमा सन्तोष व्यक्त गरे। अब आर्थिक समृद्धिको मार्ग यही क्षेत्रबाट खुल्ने विश्वास सबैमा जागृत भएको उनको भनाइ थियो। “केही वर्ष अघि यस्तो उत्साह र लगानी देखिएको थिएन,” उनले स्मरण गरे, “तर आज बैंक तथा वित्तीय संस्थाहरू पनि जोखिम मोलेर जलविद्युत्मा लगानी गर्न तम्सिएका छन्, जुन सकारात्मक संकेत हो।”

उनले छिमेकी राष्ट्रहरूबाट प्राप्त सहयोगलाई कृतज्ञतापूर्वक स्मरण गर्दै भने, “हाम्रा छिमेकी मित्रहरूसँग सहकार्यको वातावरण बनेको छ। भारत र चीनजस्ता आर्थिक रूपमा समृद्ध मुलुकहरूले हामीलाई समर्थन गरिरहनु गर्वको विषय हो।”

अन्त्यमा, उनले ऊर्जा क्षेत्रमा भइरहेको प्रगति र सम्भावनाले नेपालको भविष्य उज्यालो बनाउने विश्वास व्यक्त गरे। “हामी समृद्ध नेपालको सपना ऊर्जा माध्यमबाट साकार पार्न चाहन्छौं,” मन्त्री खड्काले दोहोर्‍याए।

प्रकाशित मिति: २६ चैत्र २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com