काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले अब नेपाली घर–घरमा लोडसेडिङ नहुने स्पष्ट आश्वासन दिएका छन्। यद्यपि विद्युत प्राधिकरणको आर्थिक अवस्था सन्तोषजनक नभएको स्वीकार गर्दै उनले अझै सुधारको प्रशस्त सम्भावना रहेको बताए।
बुधवार सान्जेन खोला जलविद्युत् आयोजनाको औपचारिक सुरुआत गर्दै मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई एशियाकै उत्कृष्ट तथा दक्ष इन्जिनियरको रूपमा प्रशंसा गरे। उनले शाक्यको नेतृत्वमा आर्थिक पारदर्शिता कायम गर्दै देशलाई लोडसेडिङमुक्त बनाउने मार्गमा अग्रसर रहेको विश्वास व्यक्त गरे।
मन्त्री खड्काका अनुसार सरकारको लक्ष्य आगामी १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने हो, र यस लक्ष्यतर्फ योजनाबद्ध रूपमा अघि बढिरहेको पनि उनले उल्लेख गरे। दुई विशाल छिमेकी मुलुकहरूसँग सहकार्य गर्दै नेपालको ऊर्जा क्षेत्रलाई नयाँ उचाइमा पु-याउने उद्देश्यका साथ काम भइरहेको उनले जनाए।
हाल जलविद्युत क्षेत्रमा स्वदेशी मात्र होइन, विदेशी लगानीकर्ताहरूको समेत चासो र सहयोग बढिरहेको भन्दै उनले सन्तोष व्यक्त गरे। ऊर्जा क्षेत्रमा गरिएको लगानी नै देशको आर्थिक समृद्धिको मूल आधार बन्ने कुरामा उनले जोड दिए।
उनले हाल नेपालको ऊर्जा क्षेत्रले छिमेकी राष्ट्रहरूसँगको सम्बन्ध झन प्रगाढ बनाएको उल्लेख गर्दै, जलस्रोतको भरपूर उपयोग गर्दै मुलुकलाई ऊर्जा–आधारित अर्थतन्त्रमा रूपान्तरण गर्ने नेपाल सरकारको दीर्घकालीन आकांक्षा रहेको बताए।
प्रकाशित मिति: २६ चैत्र २०८१, बुधबार













प्रतिक्रिया