काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कडा आलोचना गरेका छन्। उनले शाहलाई कुनै हालतमा संवैधानिक राजा बन्न अयोग्य ठहर गर्दै निर्मल निवासमै बसेर देखाएको आचरणले राजतन्त्रको सम्भावना समाप्त भएको जिकिर गरे।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले भने, “नेपालको राजालाई जति नै धोएर चम्काए पनि, उनी संवैधानिक बन्न सक्दैनन्। नेपाली कांग्रेसले लामो संघर्ष र अनुभवपछि त्यो निष्कर्ष निकालेको हो।”
थापाले पूर्वराजामाथि निर्मल निवासबाटै अशान्ति फैलाउने काम गरेको आरोप लगाए। उनले प्रश्न गर्दै भने, “निर्मल निवासमै बसेर यस्तो हर्कत गरेका छन्, नारायणहिटी दरबारमा पुगेको भए के गर्थे होला?”
पूर्वराजाले व्यवसायी दुर्गा प्रसाईं र पूर्वपञ्च नवराज सुवेदीलाई साथमा राखेर राजनीतिक उथलपुथल मच्चाएको आरोप थापाको थियो। उनले थपे, “दुर्गा प्रसाईंलाई कहाँबाट ल्याएर राखे, अनि नवराज सुवेदी – जो केही समयअघि सम्म किताब लेखेर राजतन्त्रको विरोध गर्थे – तिनलाई पनि समेटेर यस्तो हल्ला मच्चाइएको छ। यसले देखाउँछ, उनीहरू राजतन्त्रको नाममा फेरि देशमा अन्योलता सिर्जना गर्न खोज्दैछन्।”
प्रकाशित मिति: २७ चैत्र २०८१, बिहिबार













प्रतिक्रिया