काठमाडौं । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई भाइरल बन्ने नाममा सरकारविरुद्ध अनावश्यक टिप्पणी नगर्न सुझाव दिएका छन्।

नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै नेता बर्तौलाले सरकारको जिम्मेवारी सम्हालिरहेका नेताहरूले जनप्रिय देखिन र चर्चित बन्न खोज्दै गैरजिम्मेवार अभिव्यक्ति दिनु उपयुक्त नहुने बताए।

advertisement

उनको भनाइमा, “लोकतन्त्रमा सबैले आफ्नो धारणा राख्न पाउने अधिकार छ। सरकार अझ प्रभावकारी र तीव्र गतिमा अघि बढोस् भन्ने चाहना अस्वाभाविक होइन। तर, सरकारकै जिम्मेवारीमा बसेका नेताहरूले ‘पपुलिस्ट’ हुन खोज्दै वा भाइरल बन्ने मोहमा बोलेको देख्दा गम्भीर प्रश्न उठ्छ।”

नेता बर्तौलाले गगन थापाको हालैको एक अभिव्यक्तिप्रति असहमति जनाउँदै यस्तो टिप्पणी गरेका हुन्। थापाले कांग्रेसको एक कार्यक्रममा बोल्दै ‘विचौलियाहरूको प्रभाव प्रधानमन्त्रीको शयनकक्षसम्म पुगेको’ दाबी गरेका थिए।

बर्तौलाले यस्तो अभिव्यक्तिलाई निराधार र अतिरञ्जित भएको बताउँदै लोकतान्त्रिक अभ्यासमा पनि जिम्मेवारीमा रहेका नेताहरूले संयमता र परिपक्वता देखाउनुपर्ने धारणा राखे।

त्यसैगरी, उनले वर्तमान सत्ता गठबन्धन टुट्न लागेको भन्ने हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पारे। “कांग्रेस र एमाले संसदका दुई प्रमुख दल हुन्। दुबै पार्टीको संस्थागत निर्णयबाट यो सरकार बनेको हो। केही व्यक्तिको चाहना वा गसिपले सरकार ढल्दैन,” उनले प्रस्ट पारे।

बर्तौलाका अनुसार सत्ता सहकार्यको जग गहिरो र सुदृढ छ, र बाहिर देखाइएजस्तो अस्थिरता सिर्जना गर्ने प्रयासहरू निरर्थक छन्।

प्रकाशित मिति: ३ बैशाख २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com