काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरिपरि चराको गतिविधि नियन्त्रण गर्न आवश्यक सबै पूर्वाधारको व्यवस्था गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिएका छन्।

संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले विमानमा चराको ठक्करका कारण हुन सक्ने सम्भावित दुर्घटनाबारे प्रश्न उठाउँदै जानकारी माग गरेकी थिइन्। सोही प्रश्नको लिखित जवाफमा मन्त्री पाण्डेले विमानस्थल क्षेत्रलाई सुरक्षित राख्न चालिएको कदमहरूबारे विस्तृत विवरण दिएका हुन्।

advertisement

उनका अनुसार नेपालमा विगतमा चरा ठोक्किएर भएका पाँच वटा विमान दुर्घटनाका विवरण प्राप्त भएका छन्। ती दुर्घटना सन् १९९६, २०००, २०१२ र २०१४ मा भएका थिए।

वर्तमान अवस्थामा त्रिभुवन विमानस्थलमा चराको उपस्थिति न्यूनीकरण गर्न विभिन्न प्रविधिको प्रयोग भइरहेको मन्त्री पाण्डेले बताएका छन्। ती प्रविधिहरूमध्ये एक थान अल्ट्रासोनिक साउन्ड डिभाइस र पाँच थान एलपी ग्यास क्यानन प्रयोगमा छन्। काग धपाउने स्केयर क्रो प्रविधि विगतमा चलनमा भए पनि हाल प्रयोगमा नरहेको जानकारी पनि मन्त्रालयले दिएको छ।

साथै, चरालाई धम्क्याएर भगाउन प्रयोग हुने अन्य उपकरणहरू पनि तयारी अवस्थामा छन्। तीमध्ये ‘गुलेली’ पर्याप्त संख्यामा उपलब्ध रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै, अत्यावश्यक परिस्थितिमा नेपाली सेनाबाट परिचालित सैनिक शिकारीद्वारा प्रयोग गरिने बन्दुकजस्ता साधनहरू पनि तयारी अवस्थामा राखिएको छ। चराको प्रवेश रोक्न केही क्षेत्रमा जालीको प्रयोग गरिएको छ भने थप प्रविधि र उपकरण खरिदको प्रक्रिया अघि बढाइएको छ।

मन्त्री पाण्डेले आगामी दिनमा चरा नियन्त्रणका लागि दीर्घकालीन योजना पनि बनाइएको जानकारी दिँदै, विमानस्थल सुरक्षामा कुनै सम्झौता नगरिने बताएका छन्।

 

प्रकाशित मिति: ४ बैशाख २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com