काठमाडौं – पत्रकारिता समाजका विषयवस्तु र निश्चित क्षेत्रभित्रको आयामहरुलाई केलाउने साधन हो। यसमा दक्षता, सकारात्मकताको दृष्टि, प्रभावकारिता र जिम्मेवारी बोधको भावनालाई प्रमुख मानिन्छ। पत्रकारिता ती बस्तुहरुको उत्पादन र वितरण हो, जसमा कुनै ब्यक्ति विशेष समाज र राष्ट्रका विभिन्न आयामहरुको अवस्थाको जानकारी हुन्छ। कुनैपनी क्षेत्र पत्रकारिता बिना पुर्ण हुन सक्दैन। यसले आम जनतालाई सूचना प्रदान गर्नुका साथै खबरदारीताका लागि अपिल गरिरहेको हुन्छ। छापाखानाबाट सुरुभएको नेपाली पत्रकारिताले प्रविधिको तिब्र विकास सङ्गै डिजिटल पत्रकारिता सम्म आइपुग्दा निकै ठुलो फड्को मार्न सफल भएको देखिन्छ। तर, प्रविधिको प्रयोग सँगै भएको दुरुपयोगले समाजलाई नकारात्मकता तर्फ अग्रसर गराइरहेको छ।
राज्यको चौथो अङ्ग मानिने पत्रकारिता जनताको आवाज हो। भनिन्छ, पत्रकार समाजको सचेत पहरेदार हो। तर ब्ल्याकमेलिङ, ब्ल्याकमनी र बार्गेनिङले सिथिल नेपाली पत्रकारिता क्षेत्रमा विकृतिको दुर्गन्ध फैलिरहेको छ। पछिल्लो समय सत्यमा भन्दा स्वार्थमा मिडियाहरु केन्द्रित हुँदैजानुले सिङ्गो पत्रकारिता क्षेत्रको विश्वसनीयता माथी नै गम्भीर प्रश्न उठ्न थालेको छ। पत्रकारिता कर्मको मर्म र धर्मलाई बेवास्ता गर्दै केही अनलाइन मिडियाले ब्ल्याकमेलिङ र बार्गेनिङलाई प्राथमिकतामा राखेर समाचार प्रकाशन गर्दै व्यावसायिको सामाजिक प्रतिष्ठामा आँच पुर्याएको गुनासो बढ्दै जान थालेको छ। पछिल्लो समय उकालो अनलाइन मिडिया यस्तै गतिविधिमा केन्द्रित भएको भन्दै व्यवसायीहरु गुनासो गर्न लागेका छन्। उकालो अनलाइनले नेपालका प्रतिष्ठित ब्यापारिक घरानाहरुलाई लक्षित गर्दै खोज पत्रकारिताको नाममा व्यवसायीहरु माथी तथ्यहिन आरोप लगाउँदै आएको व्यवसायीहरुको गुनासो बढ्दो छ।
मिशन र कमिशन पत्रकारिता
राज्यको ढुकुटीमा अर्बौं कर तिर्दै हजारौं नागरिकलाई रोजगारी दिएका व्यवसायीहरू मिडिया ब्ल्याकमेलिङको चक्रव्यूहमा फसेका छन्। ‘उकालो अनलाइन’ नामक सञ्चार संस्था आफुलाई नाफा वितरण नगर्ने संस्था बताउने गरेको छ। तर मिडियाको चर्चा र चर्तिकला नियाल्ने हो भने निकै नै शंकास्पद देखिन्छ। उकालो अनलाइनले व्यवसायीहरूमाथि कपोकल्पित आरोप लगाउँदै अनावश्यक दबाब सिर्जना गर्ने गरेको गुनासोहरु बढ्दो छ।
२०७८ पुस २५ मा नेपाल प्रेस काउन्सिलले ‘बार्गेनिङ पत्रकारिता’ सम्बन्धी चेतावनीसहितको वक्तव्य जारी गर्दा यो विषयले पहिलोपटक राष्ट्रिय मञ्चमा स्थान पाएको थियो। काउन्सिलले मिडियाबाट विज्ञापनका लागि अनावश्यक दबाब, तथ्यहीन समाचार प्रकाशन र धम्कीपूर्ण व्यवहारका घटनाहरूप्रति गम्भीर चिन्ता व्यक्त गरेको थियो।
‘ब्ल्याकमेलिङ’को अर्को नाम : उकालो अनलाइन
‘उकालो’ नामको मिडिया बजारमा विज्ञापन नलिने बताउँछ। बरु, क्राउड फण्डिङको आवरणमा उद्योगी व्यवसायीहरूसँग करोडौं रकम माग्ने गरेको स्रोतहरू बताउँछन्।
एक व्यवसायी भन्छन्, “हाम्रो कम्पनीले कुनै गैरकानुनी काम नगरेपनि, उनीहरूले अफवाह फैलाउने डर देखाएर पैसा मागे। केही समय त दियौं, पछि रोक्यौं। त्यसपछि फेरि भ्रामक रिपोर्टहरू आउन थाले।”
मुनाफा वितरण नगर्ने भनिएको ‘उकालो’मा २५ भन्दा बढी कर्मचारी कार्यरत छन्। मिडिया संचालनको स्रोत ब्यस्थापनको मुख्य आधार विज्ञापन हो। तर, विज्ञापन नलिने उकालो अनलाइनले कुनै बिज्ञापन प्रकाशन गरेको पनि देखिँदैन। प्रत्यक्ष आम्दानीको स्रोत नदेखिने मिडिया कसरी यति ठुलो जनशक्तिको खर्च धानिरहेको छ? यसले आम्दानीको स्रोतको वैधतामाथि गम्भीर प्रश्न खडा गरेको छ।
स्वार्थी सम्पादक र मौन नियमन निकाय
मालिकको निर्देशन अनुसार समाचार बनाउने सम्पादक, आचारसंहिताको सामान्य ज्ञानसमेत नबुझ्ने पत्रकार र निरीह प्रेस काउन्सिलको त्रिकोणीय कमजोरीले बार्गेनिङ पत्रकारितालाई अझ प्रश्रय दिइरहेको छ।
नेपाल पत्रकार महासंघका एक पूर्व अध्यक्ष भन्छन्, “यस्ता मिडिया पत्रकारिता होइन, दण्डहीनताको संरक्षण गरिरहेका छन्। पत्रकारिताको धर्म बेच्ने मिडियाको कडा छानबिन र कारबाही आवश्यक छ।”
‘उकालो’ जस्ता मिडियाको प्रवृत्तिले सम्पूर्ण पत्रकारिता क्षेत्रकै विश्वसनीयतामाथि प्रश्न उठाएको छ। यदि सञ्चार मन्त्रालय, प्रेस काउन्सिल र महासंघहरूले यस्ता मिडियालाई समयमै नियमन गरेनन् भने पत्रकारिताको नाममा हुने गलत गतिविधि झन फैलिने देखिन्छ।
प्रकाशित मिति: ४ बैशाख २०८२, बिहिबार













प्रतिक्रिया