काठमाडौं — नेकपा (एमाले)का नेता तथा प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले शिक्षक महासंघको आह्वानमा भइरहेको काठमाडौं केन्द्रित आन्दोलनमा दुर्गा प्रसाईँ पक्षधरहरुको संलग्नता देखिएको आशंका व्यक्त गरेका छन्।
शनिबार नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै थापाले शिक्षण पेशाको मर्यादा विपरीत प्रधानमन्त्री केपी शर्मा ओलीलाई गालीगलौज गर्नु, उनको शैक्षिक योग्यतामाथि प्रश्न उठाउनु जस्ता व्यवहारहरु आन्दोलनमा देखिनु दुःखद भएको बताए।
उनले भने, “शिक्षक आन्दोलनमा कतिपय दुर्गा प्रसाईँका कार्यकर्ताहरूले ट्याउँट्याउँजस्तो व्यवहार देखाएको सुनिएको छ। हामी डिग्री लिएर सडकमा छौं, प्रधानमन्त्रीले कति पढ्नुभएको छ? भन्ने शैलीमा अभद्र र अमर्यादित अभिव्यक्ति दिइएको पाइन्छ। यस्ता गतिविधिहरू शिक्षक महासंघको आह्वानको गरिमा र शिक्षण पेशाको मर्यादासँग मेल खाँदैनन्।”
थापाले यस्ता व्यक्तिहरूलाई आन्दोलनमा घुसपैठ हुन नदिने उपाय अपनाउन शिक्षकहरूलाई सुझाव दिएका छन्। उनले थपे, “मैले हिजो पनि शिक्षक साथीसँग आग्रह गरेको थिएँ — यो आन्दोलनलाई पेशागत मर्यादा अनुसार निष्कर्षमा पुर्याउने र अवाञ्छित तत्त्वहरूको संलग्नता रोक्न आवश्यक छ।”
त्यस्तै, आन्दोलन उत्कर्षमा पुगेको र शिक्षकहरूले आफ्नो उद्देश्यमा सफलता प्राप्त गरिसकेको मनस्थितिमा कार्यक्षेत्रमा फर्कनु उपयुक्त हुने उनको धारणा छ। उनले आगामी बजेट अधिवेशनबाटै नयाँ शिक्षा ऐन जारी हुने विश्वाससमेत व्यक्त गरे।
प्रकाशित मिति: ६ बैशाख २०८२, शनिबार













प्रतिक्रिया