काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बोलेरो गाडी धादिङमा भारतीय ट्रकसँग ठोक्किँदा एक यात्रुको मृत्यु भएको छ ।
धादिङ प्रहरीले दिएको जानकारी अनुसार, प्र.३-०१-०२३ च ६५८ नम्बरको बोलेरो गाडी शुक्रबार राति करिब १२ बजे पृथ्वी राजमार्ग अन्तर्गतको एक्लेफाँट भन्ने स्थानमा यूपी ३२ टीएन ४१९८ नम्बरको भारतीय ट्रकको पछाडिको भागमा ठोक्किएको हो।
दुर्घटनामा ललितपुर जिल्लाको बागमती गाउँपालिका–१ निवासी ३४ वर्षीय थुलबाबु थिङ गम्भीर घाइते भएका थिए। उपचारका लागि उनलाई तत्काल काठमाडौँस्थित ट्रमा सेन्टर ल्याइए पनि शनिबार बिहान करिब २ बजे उनको निधन भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालले जानकारी दिए ।
बोलेरो गाडीमा रहेका चालकसहित अन्य पाँचजना यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि उक्त भारतीय ट्रकलाई धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ अन्तर्गतको जोगिमारा क्षेत्रमा नियन्त्रणमा लिइएको छ। ट्रकका चालक भारतको उत्तर प्रदेश राज्य अन्तर्गत मोहमदपुर खलाका ४० वर्षीय कमलेश कुमार यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
थप अनुसन्धानका लागि यादवलाई इलाका प्रहरी कार्यालय गजुरीमा राखिएको डीएसपी हमालले जानकारी दिएका छन्। यसैगरी, घटनासँग सम्बन्धित बोलेरो गाडीका चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: ६ बैशाख २०८२, शनिबार













प्रतिक्रिया