काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार काठमाडौंको बिजुलीबजार क्षेत्रमा प्रदर्शन गर्ने घोषणा गरेपछि गृहमन्त्रालयले कडा चेतावनी जारी गरेको छ।
राप्रपाले तोकिएको निषेधित क्षेत्र उल्लङ्घन गर्दै आन्दोलन गर्ने निर्णय सार्वजनिक गरेपछि गृहमन्त्रालयले त्यसप्रति गम्भीर ध्यानाकर्षण गराउँदै संवैधानिक र कानुनी मर्यादा नाघे परिणाम गम्भीर हुने बताएको छ।
गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राष्ट्रिय प्रजातन्त्र पार्टीको नामबाट २०८२ सालको वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने अभिप्रायसहित आएका अभिव्यक्ति र समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता क्रियाकलाप संविधान र कानूनको प्रत्यक्ष उल्लङ्घन हुन्, जुन कुनै हालतमा स्वीकार्य हुँदैनन्।”
मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “कानूनको उल्लङ्घन गर्ने, अराजकता फैलाउने, र सामाजिक शान्ति र सुरक्षामा खलल पुर्याउने गतिविधिमा संलग्न जो कोहीलाई प्रचलित कानूनबमोजिम आवश्यक कारबाही गरिनेछ।”
साथै, मन्त्रालयले कुनै पनि प्रकारका उत्तेजक, हिंसात्मक वा गैरकानुनी गतिविधिमा नउत्रन सबै पक्षलाई आग्रह गर्दै शान्तिपूर्ण वातावरण कायम राख्न अनुरोध गरेको छ।
प्रकाशित मिति: ६ बैशाख २०८२, शनिबार













प्रतिक्रिया