काठमाडौं — सत्तारूढ नेकपा (एमाले) ले वैशाख ११ गते युवाहरूको व्यापक सहभागिता सुनिश्चित गरी काठमाडौंमा ‘युवा उत्सव’ आयोजना गर्ने भएको छ।

निरंकुश राजतन्त्र अन्त्य भई लोकतन्त्र स्थापना भएको दिनको स्मरणमा एमालेले  सेलिब्रेसनुको रूपमा यो कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा ठूलो संख्यामा युवाको उपस्थिति गराउन पार्टीले देशभरका संरचनालाई निर्देशन दिएको छ।

advertisement

एमालेले वडा र पालिका कमिटीमा ३३ प्रतिशत युवा सहभागिता अनिवार्य गरेको छ। ती युवाहरूलाई वैशाख ११ गते अनिवार्यरूपमा उपस्थित गराउन भनिएको छ। यस्तै, जिल्ला कमिटीमा १५ प्रतिशत र प्रदेश कमिटीमा १० प्रतिशत युवा प्रतिनिधित्व सुनिश्चित गरिएको छ। यी कमिटीहरूमा रहेका सबै युवालाई पनि काठमाडौं उपस्थित गराउने निर्देशन एमाले महासचिव शंकर पोखरेलले दिएका छन् ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि — मेयर, उपमेयर, पालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षलाई पनि सहभागी गराउन भनिएको छ। बागमती प्रदेशका लागि भने विशेष निर्देशिका जारी गरिएको छ।

२०७९ सालमा सम्पन्न स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बनेका सबै व्यक्तिलाई समेत कार्यक्रममा सहभागिता जनाउन भनिएको छ।

एमालेका जनसंगठनहरू, महासंघका घटक संस्था तथा सम्पर्क मञ्चका सबै तहमा आबद्ध ४० वर्षमुनिका युवालाई समेत सहभागी गराउन निर्देशन दिइएको छ।

युवालाई काठमाडौं ल्याउने तथा फर्काउने व्यवस्थापनको जिम्मेवारी पार्टीका जिल्ला अध्यक्षहरूलाई दिइएको छ।

कतिपय वडामा तोकिएको संख्यामा युवा नपुगेको अवस्थामा अन्य वडाबाट संख्या पूर्ति गर्न सकिने तर निर्धारित कुल संख्या घटाउन नपाइने स्पष्ट गरिएको छ।

महासचिव पोखरेलले परिपत्रमार्फत भनेका छन् —
“मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोज्ने, दशकौंको बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र जनअधिकार खोस्ने प्रवृत्तिलाई निर्णायक रूपमा पराजित गर्न तथा युवाहरूलाई लोकतन्त्रप्रतिको गर्व र जिम्मेवारीबोध गराउन उक्त कार्यक्रममार्फत सक्रिय सहभागिता गराउन निर्देशन दिइन्छ।”

प्रकाशित मिति: ८ बैशाख २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com