काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) का सांसद सूर्य थापाले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा असान्दर्भिक भएको भन्दै प्रधानमन्त्रीसमक्ष त्यसलाई अस्वीकृत गर्न सुझाव दिएका छन्।

आज (सोमबार) शिक्षामन्त्री भट्टराईले पदबाट राजीनामा दिएकी छन्। उक्त कदमप्रति असहमति जनाउँदै सांसद थापाले मन्त्री भट्टराईले कुनै गल्ती नगरेको स्पष्ट पारेका छन्। उनले भने, “शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा न अपेक्षित हो, न त सान्दर्भिक। उहाँले यस्तो निर्णय लिनुपर्ने कुनै जरुरी अवस्था थिएन। मेरो स्पष्ट सुझाव छ—उहाँको राजीनामा स्वीकृत नगरियोस्, जसले गर्दा विद्यालय शिक्षा विधेयकमाथि संसदीय समितिमा भइरहेको दफावार छलफल यथावत रूपमा अगाडि बढ्न सकोस्।”

advertisement

थापाले भट्टराईको कार्यशैली र समर्पणको प्रशंसा गर्दै भने, “उहाँले केही पनि गलत गर्नुभएको छैन। उहाँ एक शिष्ट, विनम्र, शालीन, अनुभवी र गम्भीर व्यक्तित्वकी मन्त्री हुनुहुन्छ। स्वास्थ समस्या हुँदाहुँदै पनि शिक्षा विधेयकलाई निष्कर्षमा पुर्याउन उहाँले अत्यन्त निष्ठाका साथ काम गर्नुभएको हो।”

उक्त परिस्थितिमा शिक्षकमाथिको दबाब र असहयोगपूर्ण व्यवहारप्रति थापाले शिक्षक महासंघको नेतृत्वप्रति आक्रोश प्रकट गरेका छन्। उनले भने, “शिक्षक महासंघको नेतृत्वले आवश्यक समन्वय र सहयोग नगरी उल्टै राजीनामाको माग गरेर स्थितिलाई जटिल बनाएको छ।”

थापाले अब शिक्षा विधेयकको प्रक्रियामा ढिलाइ हुने चिन्ता पनि व्यक्त गरे। “प्रधानमन्त्रीज्यूले यही वैशाख २३ गते प्रतिनिधिसभामा विधेयक टेबुल गर्ने मिति तोक्नुभएको थियो। तर अब मन्त्रीविहीन अवस्थामा समितिले काम सक्न गाह्रो हुनेछ,” उनले भने। “नयाँ मन्त्रीले विषयवस्तु बुझ्न र दफावार छलफलमा सहभागी हुन केही समय लाग्ने भएकाले विधेयक अघि बढाउने प्रक्रिया अझै ढिलो हुनेछ।”

शिक्षामन्त्री भट्टराईले आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएकी हुन्। हालसम्म उक्त राजीनामा स्वीकृत भएको छैन।

प्रकाशित मिति: ८ बैशाख २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com